
विदुर । नुवाकोट जिल्लाका बाम लोकतान्त्रिक गठबन्धनले भोलि अन्तिम आमसभा गर्ने भएका छन् । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नं २ ले विदुर नगरपालिका वडा नं ४ बट्टारस्थित हावा घरमा आमसभाको आयोजनको तयारी गरेका छन् । नेपाली कांग्रेस स्रोतका अनुसार भोलिको अन्तिम सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व परराष्ट्मन्त्री डा. प्रकाशशरण महत र अर्का पूर्व मन्त्री डा. मिनेन्द्र रिजाल नुवाकोट आउने भएका छन् ।
निर्वाचन आयोगले भोलि मंसिर १ गते राती १२ बजेसम्ममात्र प्रचारप्रसार गर्न पाइने आचारसंहिता जारी गरेको छ । त्यसपछि भने मौन अवधि सुरु हुनेछ । मौन अवधिको समयमा राजनीतिक रुपमा प्रचार प्रसार गरिए कारबाही गरिने आयोगले यसअघि नै सूचना जारी गरिसकेको छ ।
सभालाई भव्य बनाउनका लागि गठबन्धनले क्षेत्रका नेता कार्यकर्ताहरुलाई उपस्थिति हुन समेत भनेको छ । सभालाई क्षेत्र न. २ का प्रतिनिधिसभा उम्मेदवार अर्जुननरसिंह केसी, बहादुरसिंह लामा, रामप्रसाद ढुंगाना लगायत बाम लोकतान्त्रिक गठबन्धनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । मंसिर ४ गते एकै चरणमा मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।