
विदुर । प्रतिपक्षी दल नेकपा एमालेले नुवाकोट जिल्लामा विगतको आफ्नो विरासत गुमाएको छ । नेपाली कांग्रेस र माओवादीबीचको गठबन्धसँग एक्लै चुनावी प्रतिस्पर्धामा होमिएको एमालेले जिल्लाको दुई निर्वाचन क्षेत्र र ४ वटा प्रदेशमा कुनै पनि ठाउँमा जित हासिल गर्न सकेन ।
क्षेत्र नं १ मा एमालेका जिल्ला अध्यक्ष बद्री मैनालीले माओवादीका हित बहादुर तामाड.लाई कटा टक्कर दिएपनि अन्त्यमा भने तामाड.ले झण्डै तीन हजार मत अन्तरले मैनालीलाई पछि पारेका छन् । यस्तै प्रदेशमा पनि एमालेका दुवै उम्मेदवार पराजित भए ।
प्रदेश क मा सुशील खड्का र प्रदेश ख मा पूर्णलाल श्रेष्ठ चुनावी मैदानमा होमिएका थिए । उनीलाई कांग्रेसका रमेश महत र माओवादीका राधिका तामाड.ले पराजित गरिन । यस्तै क्षेत्र नं २ मा एमालेका नारायण खतिवडा कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीभन्दा झण्डै १२ हजार मत अन्तरले पराजित हुने भएका छन् ।
प्रदेश ख मा एमालेका बागमती प्रदेश अध्यक्ष केशव पाण्डे माओवादीका रामप्रसाद ढुंगानासँग ३४७ मत अन्तरले पराजित हुन पुगे । एमालेका पाण्डेले राष्ट्यि स्वतन्त्र पार्टीसँग मत साटेको आरोप लागेपनिछ खतिवडा पक्षले पाण्डेलाई मत नदिएको गुनासो बाहिर आएको छ ।
यस्तै प्रदेश क मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामासँग एमालेका बुद्ध लोप्चन पनि पराकिलो मतकासाथ पछि परिसकेका छन् । यद्यपि उक्त क्षेत्रको मत गणना अझै सकिएको छैन । यसैबीच जिल्ला अध्यक्ष बद्री मैनालीले सबै मतदाताहरुलाई धन्यवाद दिँदै पार्टी हारको विषयमा आफुले जिम्मेवारी लिने बताएका छन् ।
मैनालीले सामाजिक सञ्जाल मार्फत हारको जिम्मेवारी लिँदै यसबारेमा गम्भीर समिक्षा हुने पनि जनाएका छन् । गत निर्वाचनमा एमाले र माओवादीको गठबन्धनका कारण एमालेले १ संघीय निर्वाचन र दुई प्रदेश जितेको थियो ।