
काठमाडौं, माघ १८ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
बैठकले गल्छी — रातमाटे २२० केभी प्रशारण टावर प्याड निर्माणका लागि गल्छी गाउँपालिका र बेलकोटगढी नगरपालिकालाई निजी जग्गा प्राप्तिका लागि स्वीकृत गर्ने निर्णय गरेको छ । धादिङको गल्छीदेखि नुवाकोटको रातमाटे सबस्टेसनसम्म प्रसारण लाइन निर्माण हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले गल्छीदेखि–रातमाटे ८।५ किलोमिटर लामो २२० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्न लागेको छ ।
प्राधिकरणले धादिङको गल्छी गाउँपालिका–८ मा रहेको मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको टावर नं। एपी–१९ र एपी–१९ए को मध्य बिन्दुदेखि नुवाकोटको बेलकोटगढी नगरपालिका–७ धनसरमा निर्माणाधीन रातमाटे सबस्टेसनमा लुप इन, लुप आउट गर्ने गरी उक्त क्वाड सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो। सोही प्रयोजनका लागि सरकारले प्राधिकरणलाई जग्गा प्राप्तिका लागि स्वीकृत दिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतको सङ्गठन तथा व्यस्थापनको सर्वेक्षण गरी पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै, विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रम (दोस्रो) का लागि विश्व बैंकको विकास नीति ऋण अन्तर्गत प्राप्त हुने एक सय मिलियन डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसबाहेक बैठकले अन्य १५ वटा निर्णय सार्वजनिक गरेको छ ।

