
विदुर । गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लामा सञ्चालित ६ वटा अवैध क्रसरउद्योग बन्द गराएको छ । जिल्लामा संचालित क्रसर उद्योग प्रचलित कानून र मापदण्ड अनुरुप सञ्चालन भएको नभएको सम्बन्धमा स्थलगत रुपमा निरीक्षण गरी मापदण्ड विपरित सञ्चालन भएको पाइएमा प्रचलित कानून बमोजिम मुचुल्का गरी तत्काल बन्द गराउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पुस २४ मा टोली गठन भएकोमा उक्त टोलीले जिल्लामा संचालित विभिन्न क्रशर उद्योगहरुको अनुगमन गरी देहायका विना दर्ता÷नवीकरण÷इजाजत तथा मापदण्ड विपरित संचालन भएका क्रशरहरु बन्द गरेको हो ।
टोलीले अन्य उद्योगमा पनि अनुगमन कार्य जारी रहेको व्यहोरा जनाएको छ । समितिले सुर्य कुण्ड रोडा ढुंगा उद्योग प्रा.लि.खानीगाउँ ४ हाल लिखु गा.पा.१,क्षेत्रपाल क्रसर प्रा.लि.लिखु गा.पा. ४,दुप्चेश्वर क्रसर उधोग तादी गा.पा.३,नेसनल लाईन एण्ड स्टोन प्र.लि.पञ्चकन्या गा.पा.२,मृत संजिवनी क्रशरलिखु ४,नाट्येश्वरी रोडा ढुंगा उद्योग प्रा.लि.कविलास ८ हाल पञ्चकन्या गा.पा.२,लाई बन्द गराएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाभित्र अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको थियोे । गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जारी गर्नु भएको ‘अबैधानिक क्रसर उद्योग बन्द गर्ने तथा गराउने’ सम्बन्धि सूचनामा प्रचलित कानून र मापदण्ड विपरीत अनुमती नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी तथा उत्खनन्, प्रशोधनकार्यमा संलग्न रहेका क्रसर उद्योग र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना सकिएपछि पनि सञ्चलानमै रहेका उद्योग तत्काल बन्द गर्न भनिएको छ ।
मापदण्ड विपरित सञ्चालनमा रहेका तथा विकास–आयोजनाको नाममा चल्दै आएका क्रसरले निर्देशन नमाने कडा कारबाही गर्ने चेतावनी समेत दिइएको छ । केही दिन अघि नेपाल सरकारले देशभरका अबैध रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेसगैँ त्यसको कार्यान्वयनको लागी नुवाकोट प्रशासनले सूचना जारी रहेको हो ।
अहिले नुवाकोटमा आधा दर्जन भन्दा बढी अबैध क्रसर उद्योगहरु निर्वाध रुपमा सञ्चालनमा रहेका छन् । प्रशासनले बन्द गर्ने भनेपनि क्रसर उद्योगहरुले अटेरी गर्दै आएका छन् । उता क्रसर उद्योग बन्द भएसँगै नदीजन्य पदार्थको अभाव भएको भन्दै त्यसको समाधानका लागि पहल गर्न माग गरिएको छ । नेपाली कांग्रेस नुवाकोटका सभापति तथा प्रदेश सांसद रमेश महतले गृहमन्त्री रवि लामिछानेलाई टेलिफोन गरि क्रसर उद्योग बन्द गर्ने निर्णय फिर्ता लिँदै आवश्यक छानविन गरेर निर्णय लिन माग गर्नुभएको छ