
महायज्ञको उद्घाटन गर्दे कांग्रेस प्रवक्ता तथा पूर्व मन्त्री डा. प्रकाशशरण महत
विदुर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले तादी गाउँपालिका र पन्चकन्या गाउँपालिकाको संगमस्थल (सुर्यमति र हेमवति नदि)तादी दोर्खु दोभानमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञमा सप्ताहको उद्घाटन गर्नुभएको छ । उहाले दुई गाउँपालिकाको महत्वपूर्ण संगम स्थलमा महायज्ञ आयोजना गरेर अत्यन्त महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।
उहाले धार्मिक महत्वसँगै प्राकृतिक छटाले पनि भरिपूर्ण रहेको यस स्थानमा महायज्ञ लगाएर महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । उहाले धार्मिक परम्परा र कृतिहरुलाई एउटा पिँडीबाट अर्को पिडीलाई हस्तान्तरण गर्ने काम लिखित भन्दा पनि मौखिक रुपमा हुँदै आएको बताउनुभयो ।
भागवत्मा कसरी जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने कुरा उल्लेख भएकाले यसको नेपाली समाजमा महत्व रहेको बताउनुभयो । उहाले भागवतबाट कसरी नैतिकवान हुने , कसरी परिवारको संरक्षण गर्ने मृत्युपछिको जीवनको कसरी कल्याण हुन्छ भन्ने कुरा पनि दर्शाएको बताउनुभयो ।

उहाले पछिल्लो समय विश्वमा नै यसको महत्व बढ्दै गएको बताउनुभयो । पूर्व मन्त्री समेत रहनु भएका डा. महतले भागवत् गिताको महत्व झन विश्वभरि बढ्दै गएको उल्लेख गर्नुभयो । नेपाली समाज आफ्नो संस्कृति र सभ्यता छाडेर हिनताबोध गरेर पश्चिमी शैलीमा दौडिरहेको समेत उहाको भनाई थियो । उहाले भन्नुभयो, हामी पश्चिमी संस्कारका लागि हामी दौडिरहेका छौं तर उनीहरु सबै कुराको सुविधा भएपनि शान्ति र खुशी का लागि हाम्रो धर्म संस्कृति अंगालि रहेका छन् ।
उहाले भन्नुभयो, विगतमा गाउँघरमा साना साना कुरामा पनि खुशी थियौं तर अहिले त्यो छाडेर पश्चिमा शैली देखेकाले हामी पनि असन्तुष्ट हुन थालेको छौं यसले हामीमा असन्तुष्टि बढाएको छ । प्रवक्ता महतले विकास र संस्कृति दुवै कुराको सन्तुलन हुनुपर्नेमा जोड दिनुभयो । उहाले दोर्खु दोभानमा झोलुड.्गे पुल बनाउने र त्यसको माथि शिवको मन्दिर बनाउने अत्यन्त पवित्र कार्यलाई सफल बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाले सरकारको मात्रै मुख ताकेर बस्नु भन्दा गाउँ गाउँमा बस्ने सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाले आफूले गर्ने कामको महत्व हुने भएकाले आफ्नो तहबाट पनि सहयोग गर्नुपर्ने बताउनुभयो । उहाले पुल निर्माणसँगै उक्त क्षेत्र धार्मिक सँगै पर्यटकीय स्थल समेत बन्ने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि कलस यात्रा गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा अन्य विशिष्ट अतिथिहरुको पनि सहभागिता रहेको महायज्ञ व्यवस्थापन समितिका संयोजक कृष्ण मिश्रले जानकारी दिनुभयो । महायज्ञको वाचन बालब्यास ज्योतिश पण्डित शंकर प्रसाद खनालबाट हुने बताइएको छ ।