
संघको कार्यक्रमको उद्घाटन गर्दै कांग्रेस नेता अर्जुननरसिंह केसी
विदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संघीय शिक्षा ऐन बन्न नसक्नु दुःखद भएको बताउनु भएको छ । नेपाल शिक्षक संघ नुवाकोटको १९ औं प्रतिनिधिसभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व शिक्षामन्त्री समेत रहनु भएका नेता केसीले संघीयता आएको यति लामो समयसम्म पनि संघीय शिक्षा ऐन बन्न नसक्दा शिक्षकहरुको सम्मानमाथि समेत अन्याय भएको बताउनु भयो ।

उहाले शिक्षा ऐन नभएका कारण नै शिक्षकहरुलाई स्थानीय तहहरुले अपमान हुने ढंगले चलाइरहेको समेत आरोप लगाउनु भयो । उहाले शिक्षकहरुले पनि आफ्नो पेशागत मर्यादाका लागि आवाज उठाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । नेता केसीले भन्नुभयो, तपाई शिक्षकहरुले शिक्षा ऐन बनाउनुपर्यो भनेर एक दिन त बिरोध प्रदर्शन गर्न सक्नु भएको छैन अनि कसरी सरकारले कान सुन्छ ।
उहाले कांग्रेस नेतृत्वको सरकारको पालामा पनि शिक्षा ऐन नबनेकोमा आपत्ति जनाउनुभयो । उहाले आफ्नो जीवनको सुरुवात नै गाउँको दुर्गम विद्यालयबाट भएकाले आफूले शिक्षकहरुको समस्या बुझ्ने र त्यसका लागि सक्दो सहयोग गर्ने बताउनुभयो । नेता केसीले आफू मन्त्री बन्ने भन्दा पनि मुलुकको अवस्थालाइृ सुर्धानका लागि एउटा क्रान्तिकै नेतृत्व गरेर अघि बढ्ने बताउनुभयो । अर्को एक प्रशंगमा नेता केसीले आफूले सबैलाई समान व्यवहार गरेको स्मरण गराउँदै आफूमाथि गुटका नाममा जाईलाग्नेलाई भने आफूले पनि नछाड्ने चेतावनी दिनुभयो ।
उहाले आफू शिक्षामन्त्री भएका बेलामा नुवाकोट जिल्लाका अधिकांश स्थानमा विद्यालय खोलेर शिक्षकहरु राखेको स्मरण पनि गराउनुभयो । उहाले वर्तमान राष्ट्पति निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेर राजनीतिलाई नयाँ बाटोमा अघि बढाएको पनि बताउनुभयो ।
नेपाल शिक्षक संघ नुवाकोटका अध्यक्ष द्धारिका पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा संघीय सांसद सिता मिजार, नेपाली कांग्रेस नुवाकोटका पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले नेपाली कांग्रेसलाई बलियो बनाउन शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महत, , शिक्षक संघ नुवाकोटका पूर्व अध्यक्ष रामबहादुर थापा, संघका पूर्व अध्यक्ष शम्भु शर्मा, नुवाकोट उद्योग बाणिज्य संघका सन्तोश उप्रेती,नेपाल टे्ड युनियनका अध्यक्ष शिव देवकोटा लगायतका वक्ताहरु संघको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष रामबहादुर थापालाई सम्मान गरिएको थियो ।