
विदुर । नुवाकोट जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचनका लागि प्रजातान्त्रिक बाम समूहका उम्मेदवारहरु सर्वसम्वत रुपमा निर्वाचित भएका छन् । लामो रस्साकस्ीपछि नेपाली कांग्रेससहित बाम लोकतान्त्रिक गठबन्धनले सबै पदमा सर्वसम्र्वत गरेको नेपाली कांग्रेसका जिल्ला सचिव श्रीराम श्रेष्ठले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । सहमति भए अनुसार नुवाकोट जिल्लाका चर्चित युवा व्यवसायी राजेन्द्र श्रेष्ठको नेतृत्वमा प्रजातान्त्रिक बाम समूहले महासंघमा आफ्नो वर्चश्व कायम गरेको छ ।
सोमबार , मंगलबार र बुधबार भएको छलफलपछि सर्वसम्वत रुपमा नेतृत्व चयन भएको हो । मंगलबार उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम थियो । मंगलबार नै अध्यक्षमा राजेन्द्र श्रेष्ठ, प्रथम,उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ,प्रवक्तामा सुमन भण्डारी निर्विरोध भएका थिए । यस्तै बुधबार भएको छलफलपछि वरिष्ठ उपाध्यक्षमा गिता अमात्य, महासचिवमा उपेन्द्र बुढाथोकी, सचिवमा मधुसुधन थपलीयालाई सर्वसम्वत आधिकारिक उम्मेदवार बनाइएको छ ।
यस्तै सदस्यहरुमा पनि माओवादीका ५ जना एकिकृत समाजवादीबाट १ जनालाई सर्वसम्वत गरिएको छ । यस्तै अध्यक्षको दावेदावी गरेकी वरिष्ठ उपाध्यक्ष गिता अमात्य यस पटक पनि वरिष्ठ उपाध्यक्षमा नै बस्न राजी भएकी छिन् । एमालेले रमेश श्रेष्ठलाई उम्मेदवार बनाउन बताएको भएपनि केही सदस्यहरुले मात्रै मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गरेका सदस्यहरु पनि सर्वसम्वतमा परेका छन् ।
नुवाकोट जिल्लामा रहेर हार्डवयर व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यवसायी श्रेष्ठ यसअघि संघको द्धितिय उपाध्यक्ष रहेर काम गरिसकेका छन् । सरल र मिजासिला श्रेष्ठको व्यवसायिक यात्राले समग्र उद्योगी व्यवसायीहरुको हितमा काम गर्न सक्ने क्षमता रहेकाले उनको नेतृत्वमा उद्योग बाणिज्य संघले काम गर्ने विश्वास लिइएको छ । निर्वाचन समितिले ५ गते उम्मेदवारी मनोनयन दर्ता तय गरेको थियो । ५ गते नै उम्मेदवारमाथि दावी विरोधको समय निर्धारण गरिएको थियो । उम्मेदवारको नाम माथि दावी विरोध तथा छानविनपछि उम्मेदवारको अन्तिम नामाबली ६ गते आज प्रकाशन गरिने छ । यस्तै वैशाख ६ गते साँझ ५. १५ बजे उम्मेदवारको अन्तिम नामाबली प्रकाशित गरिने छ भने ९ गते बिहान ७.३० देखि ५ बजेसम्म इलम प्रशिक्षण केन्द्रमा निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ .
निर्वाचन समितिले अध्यक्षका लागि ५० हजार, बरिष्ठ उपाध्यक्षका लागि ३५ हजार,प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्षका लागि ३०हजार , महासचिब,सचिब, कोषाध्यक्ष,प्रवक्ताका लागि २५ हजार सदस्य रु १५ हजार र खुला सदस्य लाई १० हजार कायम गरिएको थियो ।
यसैबीच बाम लोकतान्त्रिक गठबन्धनको मर्म र भावना विपरित एमाले समर्थक व्यवसायीहरुलाई सहयोग गरेको भन्दै नुवाकोटका एक व्यवसायी पुरुषोत्तक कार्कीलाई कारबाही गरिएको छ । नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेका कार्कीलाई नेपाली कांग्रेसले पार्टीको विधान २०१७ को शंसोधनसहितको परिच्छेद ९ को धारा ३४ को उपधारा १ को घ मा उल्लेख भएको व्यवस्था अनुसार पार्टीको हित विपरित कार्य गरेको भन्दै साधारण सदस्य समेत नरहने गरि चार वर्षका लागि कारबाही गरिएको पार्टी सचिव श्रीराम श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । कार्की उद्योग बाणिज्य संघ नुवाकोटका निर्वमान अध्यक्ष तथा हाल केन्द्रीय सदस्यमा निर्वाचित तारा बहादुर कार्की छोरा हुन । उता कार्कीले भने कारबाहीका बारेका केही बोलेका छैनन् ।