
सिसडोल क्षेत्रमा आयोजित पत्रकार सम्मेलन
विदुर । राजधानीको फोहोर बिर्सजनस्थल रहेको नुवाकोटको सिसडोल प्रभावित पालिकाहरुले आफूहरुले उठाएका माग पूरा गर्न माग गर्दै तत्काल पूरा नगरिए कठोर कदम चाल्ने बताएका छन् शनिबार नुवाकोटको सिसडोल क्षेत्रमा पत्रकार सम्मेलनको आयोजना गर्दै बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका र धादिड.को धुनीवेशी नगरपालिकाका प्रमुखहरुले आन्दोलनको उक्त माग अघि सारेका हुन ।
पत्रकार सम्मेलनपछि संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा फोहोर व्यवस्थापनको लागि फोहोरको संकलन,फोहोरको प्रशोधन र व्यवस्थित रुपमा विर्सजन गरिनुपर्नेमा फोहोरको लिच्चड अव्यवस्थित रुपमा खोलामा मिसाउने र यस वरिपरिकोक्षेत्र दुर्गन्धित हुनुका साथै मानिसहरु बसोबास गर्नका लागि अयोग्य भएको ठहर गरिएको छ । यस्तै विज्ञप्तिमा अव्यवस्थित रुपमा फालिएको फोहोरेले वातावरण दुर्गन्धित बनाएको र कृषि योग्य जमिनमा समेत उब्जाउ हुन छाडेको बताएइको छ । विज्ञप्तिमा जसका कारण मानिसहरु समेत बस्न सक्ने अवस्था नभएको स्मरण गराइएको छ ।

फोहोरलाई चिल, गिद्ध लगायतका पंक्षिहरुले एक ठाउँबाट अर्को ठाउँमा ओसापसार गरेका कारण तोकिएको भन्दा धेरै क्षेत्र प्रभावित हुन पुगेको र प्रभावित क्षेत्रका नागरिकहरु विभिन्न सरुवा रोगको सिकार हुन पुगेको उल्लेख गरिएको छ । उक्त अवस्थामा संघीय सरकार र काठमाडौं महानगरपालिका असाध्यै गैर जिम्मेवार रुपमा प्रस्तुत भैरहेको आफूहरुले महशुस गरिरहेको र प्रभावितहरुमाथि गम्भीर प्रकारको खेलवाड भैरहेको यो अवस्थामा यस क्षेत्रका जनप्रतिनिधि हुनुको नाताले टुलुटुलु हेरेर बस्न सक्ने अवस्था नभएको भन्दै आफूहरुले उठाएका माग तत्काल सम्बोधन गर्न माग गरिएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार वैज्ञानिक ढंगले फोहोरको व्यवस्थान गर्नूपर्ने, प्रभावित नागरिकलाई उचित व्यवस्थापन, आवश्यकताको आधारमा प्रभावित मानववस्तीलाई व्यवस्थापन र यसअघि भएका सम्झौता तत्काल कार्यान्वयनको माग गरिएको छ । साथै उक्त मागहरु तत्काल पूरा नगरिए कठोर कदम चालिने समेत पत्रकार सम्मेमलनपछि वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ । विगत १४ वर्षअघि दुई वर्षका लागि भन्दै महानगरपालिकाको फोहोर उक्त क्षेत्रमा बिर्सजन गर्ने सहमति भएको थियो । तर यति लामो समयसम्म पनि उक्त क्षेत्रमा नै फोहोर बिर्सजन गरिदै आएको छ ।
बन्चरेडाँडामा बनाएएको ल्याण्डफिल्ड साईडलाई समेत अव्यवस्थित रुपमा फोहोर बिर्सजन गर्न थालिएपछि स्थानिय थप प्रभावित भएका छन् । काठमाडौं महानगरपालिकासँग स्थानीयले सम्झौता गर्ने गरेपनि कार्यान्वयन नभएको भन्दै आन्दोलन समेत हुँदै आएको छ । तर टाठा बाठाहरुले आफ्नो स्वार्थमा आन्दोलनलाई तुहाउने गरेका कारण स्थानीय भने बारम्बार प्रभावित हुँदै आएका छन् । पछिल्लो पटक भने जनप्रतिनिधिहरुनै तातेका छन् । जसले संघीय सरकार र काठमाडौं महानगरपालिकाको ध्यान आकृष्ट हुने अवस्था बनेको छ ।