
फाइल तस्बिर
विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट लिइने राहदानी र राष्ट्रिय परिचय पत्रका लागि भरिने अनलाईन फारम निःशुल्क भर्न पाइने भएको छ । यही जेठ १ गते देखि जिल्ला प्रशासन कार्यालय नुवाकोट परिसरमा रहेको आप्रवासी श्रोत केन्द्रको सहायता कक्षबाट निःशुल्क भर्ने ब्यबस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विदुर नगरपालिकाको तर्फबाट कर्मचारीको व्यवस्था गरिदिने निर्णय भएसँगै निःशुल्क रुपमा फारम भर्न सकिने व्यवस्था भएको प्रशासनले जनाएको छ ।
नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीको सक्रियतामा यस्तो निर्णय भएको हो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत सरोकारवालाहरुबीच बैशाख २५ गते यस विषयमा छलफल भएको थियो । जिल्लामा निजी क्षेत्रले राहदानीको ३ सय रुपैयाँ र राष्ट्रिय परिचयपत्रका लागि ४ सयसम्म लिने गरेका छन् । विदुर नगरपालिकाको यो निर्णयसँगै सर्वसाधारणलाई भने राहत भएको छ ।
जिल्लामा हरेक दिन ५० जनासम्मले परिचयपत्र र राहदानीका लागि निवेदन दिने गरेका छन् । पासपोर्टका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि परिचयपत्र लिनेको पनि भिड लाग्ने गरेको छ । यसैबीच जिल्ला प्रशासन कार्यालयले मिटरब्याज पीडितहरुले प्रशासनका उजूरी दिने समय निर्धारण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले हस्ताक्षर गर्नुभएको सूचनामा अनुचित लेनदेन सम्बन्धि जाँचबुझ आयोग २०७९ सम्पर्क कार्यालय गृह मन्त्रालय परिसर, सिंहदारको वैशाख १३ गतेको परिपत्र र १४ गते प्राप्त पत्र बमोजिम मिटर ब्याजी पीडितलेहरुले आफूसँग भएको प्रमाणको कागजातहरुसहित जिल्ला प्रशासन कार्यालय नुवाकोटमा अनुचित लेनदेन(मिटर ब्याज) पीडित सहायता कक्षाको कोठा नं १११ मा वैशाख ३१ गतेसम्म तोकिएको ढाँचामा आवेदन दिनका लागि अनुरोध गरिएको छ ।