
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका गर्नुभएको छ ।
आज बिहान (शनिबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा राख्नुभयो । अध्यागमनका कर्मचारीहरुले दैनिक ५० लाख घुस लिएर गृहमन्त्रीसम्मकहाँ पुर्याउने गरेकोसमाचार सार्वजनिक भएको छ । सो आधारमा अख्तियारका सहसचिव समेत पक्राउ परेका छन् ।
कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतामा सघाउ पुग्ने उल्लेख गर्नुभयो ।
नेता कोइरालाले संवैधानिक निकायहरू सचिवहरूको रिटायरमेन्ट क्लबजस्तो बनेकाले कर्मचारीहरूका लागि कुलिङ पिरियड अत्यावश्यक रहेको धारणा समेत राख्नुभयो । यस्तै पत्रकारहरुले गरेको अर्को एक प्रश्नमा ०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको बताउनुभयो । कोइरालाले कार्यकर्ताहरूलाई महाधिवेशनका लागि दबाब दिन आग्रह समेत गर्नुभएको थियो ।