
बेलकोटगढी । नुवाकोट जिल्लाको दोस्रो ठुलो पालिका बेलकोटगढी नगरपालिकाको वर्तमान नेतृत्वप्रति जनगुनासो बढि देखिएको छ । शनिबार नगरपालिकाको प्रांगणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांश उपस्थित नागरिकहरुले नगरपालिकाले विकास निर्माणको काम गर्न नसकेको , भ्रष्टाचार भएको, गुणस्तरीय काम हुन नसकेको, योजनाहरुको मापदण्ड विना नै भुक्तानी गरिएको लगायतका गुनासो गरेका छन् । उद्यपि सार्वजनिक सुनुवाईमा मेयर उपमेयरलले भने सरकारी मापदण्ड भन्दा बाहिर गएर आफूहरुले भुक्तनाी गर्न दवाव नदिएको दावी यस्तै गलत काम गरेको भए कारबाही भोग्न तयार रहेको बताएका छन् ।
नेपाली कांग्रेसका नगर सभापति लेखनाथ मुड्बरीले आफूहरुले जनताको काम हुने, विकास निर्माणले गति पाउने भनेर जिताएर पठाएको तर जनताको भावना अनुसार नगरपालिका नेतृत्वले काम गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, हामीले तपाईहरुलाई जनताको काम गर्न पठाएका थियौं , त्यति बेला नै हामीले पनि भनेका थियौं,जुन दिन जनगुनासो आउँछ हामी फेरि जनताको गुनासो लिएर आउँछौं भनेका थियौं । आज जनगुनासो अत्यधिक बढेपछि हामी जनताको गुनासो लिएर यहाँ आएका छौं, तपाईहरुले जनमतको कदर गर्न सकेको देखिएन ।
यस्तै नेपाली कांग्रेसका नेता यादव नेपालले राजश्व संकलनको विषयमा आवाज उठाएका थिए । यस्तै कांग्रेस बोगमती प्रदेश सदस्य बद्री मुडबरी, क्षेत्र नं २ प्रदेश क का सभापति बैकुण्ठ पाण्डे, हिरा पाण्डे लामा, कृष्ण पाण्डे,श्याम ढुंगाना,पुर्ण गजुरेल,राजन सिटौला लगायतका अधिकांश कांग्रेस एमालेका नेता कार्यकर्ताले नगर नेतृत्वप्रति कडा टिप्पणीकासाथ आलोचना गरेका थिए । तर माओवादीका नेता कार्यर्ताहरुले भने त्यसको बचाउँ गरेको देखिन्थ्यो । माओवादीका नेताहरु राजकुमार रेग्मी, नवीन पुडासैनी, भोजबहादुर पनेरु लगायतले नेतृत्व अर्थात मेयरको बचाउँ गर्दै बहुमतको दम्भले कांग्रेसले काम गर्न नदिएको आरोप लगाएका थिए । झण्डै पाँच घण्टा चलेको नगरपालिकाको सार्वजनिक सुनुवाईमा आरोप प्रत्यारोपमा नै सकिएको थियो । आम स्तरबाट उठेका अधिकांश प्रश्न मेयर उपमेयर, वडाअध्यक्षप्रति बढि थियो ।
यस्तै कर्मचारी र प्राविधिकप्रति पनि जनगुनासो बढि देखिन्थ्यो । अधिकांशले ग्रामिण भेगमा रहेका योजनाहरुको काम गुणस्तरहिन भएको गुनासो गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत सरुवा भएको बेलामा भएको सार्वजनिक सुनुवाईमा जनप्रतिनिधिहरुले चित्तबुझ्दो जवाफ नदिएको भन्दै होहल्ला समेत भएको थियो ।
आम रुपबाट अठेका अधिकांश प्रश्नको जवाफ मेयर जगत लामाले दिएका थिए । लामापछि उपमेयर शिव दाहालले जवाफ दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका १३ वटै वडाका वडाध्यक्षहरूको सक्रिय उपस्थिति रहेको थियो ।कार्यक्रममा नगर प्रमुख गुरुङले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र वातावरण संरक्षणमा उल्लेखनीय प्रगति गरेको दावीसहितको प्रतिवेदन पेश गरेका थिए । मेयर गुरुड.ले आफुहरुले जनताको करको सदुपयोग गर्दै योजना निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शिता कायम गर्न निरन्तर प्रयास गरेको दावी गरे । साथै मेयर लामाले आगामी वर्षहरूमा अझ बढी उत्तरदायी र प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउँदै नागरिकसँग सहकार्यको अपेक्षा रहेको बताए ।

उपप्रमुख शिवप्रसाद दाहालले जनताबाट आएका सकारात्मक सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रम जिल्लाकै स्थानीय मिडिया उत्तरगया मिडिया प्रा.लि. नुवाकोटले सहजीकरण गरेको थियो । बेलकोटगढी नगरपालिकाले नयाँ नेतृत्वको पाँच वर्षे कार्यकालका क्रममा तीन वर्ष पूरा हुँदै गर्दा सार्वजनिक सुनुवाई गरेर आफ्नो धारणासहितको प्रगती विवरण सार्वजनिक गरेको हो । नगरपालिकामा नेपाली कांग्रेस,एमाले र माओवादीको नेतृत्व रहेको छ । मेयरमा माओवादी,उपमेयरसहित सातवडा वडा अध्यक्षमा कांग्रेस र दुईओटामा एमालेका जनप्रतिनिधि रहेका छन् ।
नुवाकोट जिल्लाको साविक पाँच ओटा गाविस दुईपिपल,कुमरी, जिलिड., रातमाटे र बेलकोटको र मदानपुरका केही भाग समेटेर बेलकोटगढी नगरपालिका गठन भएको थियो । नगरपालिकाभित्र झण्डै ४० हजार मतदाता रहेका छन् । जिल्लाको दोस्रो नगरपालिका भएकाले यसको जिम्मेवारी धेरै रहेको छ । तर छरिएको जनसंख्या, भौगोलिक बनोटमा ठुलो आकारको नगरपालिका भएकाले विकास निर्माणले गति भने लिन सकेको छैन ।