
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्य तालिकासहित प्रभावकारी कार्यान्वयनको मोडालिटी बनाएको बताउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदैअर्थमन्त्री महतले पुँजीगत खर्चलाई व्यवस्थित गर्दै लगिने प्रतिवद्धता समेत जनाउनुभयो ।
उहाले सरकारसँग खर्च गर्ने स्रोत कम रहेको र देशको आवश्यकता धेरै भएकाले पनि सरकारले सांसदहरुले भनेजस्तो ढंगले बजेट ल्याउन नसकेको उल्लेख गर्नुभयो । उहाले मुलुकमा देखिएको आर्थिक समस्या, राजस्वको अवस्था, वैदेशिक ऋण र सहायताको अवस्था, आन्तरिक ऋणको अवस्था, मौद्रिक नीतिले ल्याएका प्रभाव, कोभिड र युक्रेन युद्धले ल्याएका बाह्य र आन्तरिक प्रभावको समेत मूल्याङ्कन गरी बजेट ल्याइएको ल्याउनु परेको बताउनुभयो ।
अर्थमन्त्री महतले उपलब्ध साधन, स्रोतको प्राथमिकता र प्रतिफलको आधारमा बजेट विनियोजन र उद्देश्य निर्धारण गर्दै परिणाममुखी बनाउँदै लैजाने कुरालाई बजेटमा स्वीकार गरिएको उल्लेख गर्नुभयो । अर्थमन्त्री डा. महतले आर्थिक वृद्धिदरको लक्ष्य परा गर्न सक्ने विश्वास व्यक्त गर्दै सरकारले करको सबैको सहयोगले लक्ष्य पुरा गर्न सकिने र र राजस्व वृद्धिको लक्ष्य पनि पुरा हुने बताउनुभयो ।
समग्रमा यसको प्रभाव राजस्व वृद्धि र अर्थतन्त्र चलायमान बनाउन केन्द्रित भएको भन्दै उहाँले नेपालमा भ्याट संकुचन हुँदै गएको स्मरण गर्दै भ्याट छुटको दायरा बढ्दै गइरहेकोले यसलाई सच्याउन खोजिएको बताउनुभयो । उहाले कतिपय सांसदहरुले सांसद पूर्वाधार विकास कोषको रकम लिन नचाहेको खण्डमा त्यसलाई पुँजीगत खर्चमा रकमान्तर गर्न सकिने पनि बताउनुभयो । अर्थमन्त्री महतले सरकारले सकेसम्म देशैभरि बजेट पुर्याउने र जनताको विकासको चाहानालाई पूरा गर्ने कोसिस गरेको पनि बताउनुभयो ।