
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–२ को वडाअध्यक्ष तिलकबहादुर लामाको निधनले ककनी गाउँपालिकाका जनता शोकमा डुबेका छन् । गत मंसिरमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ककनी गाउँपालिका वडा नं २ बाट नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका ४४ वर्षीय लामाको आज बिहान निधन भएको खबरसँगै गाउँपालिका बासिन्दाहरु शोकमा परेका थिए ।
पछिल्लो समय उनको दुवै मिर्गौलाले काम गर्न छाडेकाले विगत एक वर्षदेखि ‘डायलासिस’ गराउँदै आइरहेका थिए । लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका लामा नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नं १ को प्रदेश ‘ख’को सदस्य थिए ।
यसैबीच वडा अध्यक्ष लामाको निधनप्रति दुःख व्यक्त गर्दै ककनी गाउँपालिकाले एक दिन शोक मनाउने निर्णय गरेको छ । कार्यपालिकाको आकस्मिक बैठकले पालिका कार्यालयसहित मातहतमा रहेका शाखा, सेवा केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।
उता नेपाली कांग्रेस नुवाकोटले पनि लामाको निधनमा दुःख व्यक्त गर्दै मृत शात्मको चिर शान्तिको मामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।का.ग्रेसले पार्टीले एक शालिन नेता गुमाएको भन्दै पार्टीलाई अपुरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरेको छ ।