
विनिता डगोल
काठमाडौ । सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दल पुनः एक ठाउँमा उभिएका छन् । नेकपा विभाजनपछि फरक फरक धारमा विभाजित भएका माओवादी केन्द्र, माधव कुमार नेपालले नेतृत्व गरेको एकिकृत समाजवादीसहित नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी र जनता समाजवादी पार्टीसहित चार दल एक ठाउँमा उभिएर समाजवादी मोर्चा नामक संगठन खडा गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चाको औपचारिक घोषणा गरेका हुन । कार्यक्रमा अन्य नेताहरुको तुलनामा विप्लवलाई सहभागिहरुले तालीले स्वागत गरेका थिए ।
विप्लव बोल्दा समेत तालीको गडगडाहट थियो । दर्शकको ताली पाएसँगै विप्लवले अब देशलाई नयाँ ढंगले अघि बढाउने घोषणा समेत गरेका थिए । समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले संयुक्त हस्ताक्षर गर्नुभएको छ ।
मोर्चा गठनबारे नेताहरुले प्रष्टाउने प्रयास गरेका थिए । उनीहरुले नेपालको भगोल अनुसारको नेपाली समाजवादको मुख्य उदेश्य भएकोमा जोड दिएका थिए । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले अब नयाँ ढंगले मुलुक अगाडि बढ्ने उद्घोष गर्नुभएको थियो । उहाले आफू यो पटक प्रधानमन्त्री भएपछि हरेक दिन नयाँ नयाँ काम गर्दै आएको र अब यसलाई झन गतिशिल ढंगले अघि बढाउने बताउनु भएको थियो । कार्यक्रममा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका उपेन्द्र यादव,माओवादीका नारायणकाजी श्रेष्ठ मञ्चमा बसेका थिए । कार्यक्रमको सञ्चालन जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।
मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति हुने जनाइएको छ । मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रम कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय बनाइने कार्यक्रममा उल्लेख गरिएको छ । सो मोर्चामा डा. बाबुराम भट्राई भने सहभागि भएनन् ।