
साउन २३ शुक्रबार,विदुर । नेपाली कांग्रेस तारकेश्वरले जिल्लाको तारकेश्वर गाउँपालिकास्थित वडा नं ५ कल्लेरीडाँडामा रहेको शंखादेवी माध्यमिक विषयमा भएको बैंक खाता सञ्चालनका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
तारकेश्वर गाउँ कार्य समितिका सभापति केशवराज आर्यालले बिहीबार (हिजो) विज्ञप्ति जारी गर्दै लामो मौनतापछि कांग्रेसको धारणा सार्वजनिक गरेका हुन् । सभापति अर्यालले विज्ञप्तिमा उक्त विद्यालयको बैंक खाता सञ्चालन सम्बन्धमा देखिएको विवाद, दस्तखत नमुना सम्बन्धमा उठेका प्रश्न र विद्यालयले गरेको बैकिड. कारोबारको सम्बन्धमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
साथै अर्यालले जारी गरेको विज्ञप्तिमा विद्यालय जस्तो पवित्र क्षेत्रमा देखिएको विवाद आर्थिक हिनामिनाको प्रश्न र बैंक कारोबारको सम्बन्धमा तत्काल विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाले सत्यतथ्य जानकारी गराउन पर्नेमा जोड दिएका छन् । उनले उक्त विषयमा दोषीलाई कारबाही र निर्दोशलाइए फसाउने काम हुन नहुने भन्दै विद्यालयको विवाद समाधान गरेर पठनपाठनको वातावरण निर्माणका लागि पनि जोडादार रुपमा माग गरेका छन् ।
यस्तै कांग्रेसले वडा नं ४ मा रहेको दर्शनटार कृषि सहकारी र गाउँपालिकाबीच भएको कृषि खेती पकेट कार्यक्रमको विवरण पनि सार्वजनिक गर्न माग गर्दै सञ्चालक समितिबाट रकम हिनामिना भएको विषय बाहिर आएको भन्दै त्यसको निश्पक्ष छानविनका हुनुपर्नेमा जोड दिएको छ ।
विगत केही समयदेखि शंखादेवी माविका लेखापाल अमेरिका रहेको बेलामा उनको किर्ते हस्ताक्षर गरि विद्यालयका प्रधानाध्यापकले बैंकबाट १५ लाख रकम निकालेको विषय सार्वजनिक भएको थियो । सोही विषयमा तारकेश्वर कांग्रेसले औपचारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेको हो । यस्तै दर्शनटारमा कृषि खेती पकेट कार्यक्रममा पनि भ्रष्टाचार भएको भन्दै छानविनका लागि माग भएसँगै कांग्रेसको त्यसको विवरण सार्वजनिक गर्न माग गरेको छ ।
