
नुवाकोट पुकार समाचारदाता,
साउन २७ मंगलबार,हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आनाकानी गरिरहेको नेपाली कांग्रेसको बहादुरसिंह लामापक्ष सांसदहरुले अन्तत ः विश्वासको मत दिने भएका छन् ।
मंगलबार हेटौँडामा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामासहित बसेको संसदीय दलको बैठकले बानियाँलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
पूर्वमुख्यमन्त्री लामाको समूहका १३ जना सांसद आज काठमाडौँबाट हेटौँडा आइपुगेका हुन् । उनीहरूको उपस्थितिसँगै प्रदेश सभा बैठक बस्ने तयारी तीव्र बनेको छ ।कांग्रेसका सांसदहरु हेटौडा आइपुग्न ढिला भएसँगै बैठक सुरु हुन सकेको छैन ।
विश्वासको मतका लागि दिउँसो ४ बजे बस्ने भनिएको बैठक लामापक्षको ढिलाइका कारण पछि सरिरहेको थियो । सांसदहरूको आगमनसँगै अब बैठक सुरु हुने तयारी भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ।