
काठमाडौँ — व्यवस्थापिका संसदमा प्रतिपक्षी दलको रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी परिवर्तनको निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ ।
आयोगले बुधबार निवेदन दिएको एक वर्षपछि विवरण अद्यावधिक गरेको हो । निर्वाचन आयोगको बुधबार बसेको बैठकले रास्वपाको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । रास्वपाले २०८१ असारमा महामन्त्रीबाट डा। मुकुल ढकाललाई हटाउने निर्णय अद्यावधिक गर्न आयोगमा पत्र पठाएको थियो ।
ढकालले पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । पार्टी महामन्त्रीमा कायम गरिपाऊँ भनी दायर गरेको उक्त रिट निवेदन सर्वोच्चले मंगलबार खारेज गरेको थियो । त्यसपछि मात्रै निर्वाचन आयोगले रास्वपाको विवरण अद्यावधिक गरेको हो ।
निर्वाचन आयोगले ६२ जना केन्द्रीय सदस्य रहेको सूचीलाई अद्यावधिक गरेको हो । अद्यावधिक गरिएको विवरणअनुसार सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता मनिष झा, सहप्रवक्तामा प्रतिभा रावल र रमेश प्रसाईं छन् ।
यस्तो छ निर्वाचन आयोगले अद्यावधिक गरेपछिको रास्वपा केन्द्रीय समिति

