
विदुर नरपालिकाको मुल गेटमा धर्नामा बसेका बाल शिक्षकहरु
विदुर । विदुर नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ का लागि बजेट भाषण गरेको भोलिपल्ट विदुरमा कार्यरत बालविकास शिक्षकहरुले बजेट भाषण मार्फत आफूहरुको माग सम्बोधन नगरिएको भन्दै विदुर नगरपालिकाको मुल गेटमा नै धर्नामा बसेका छन् । नेपाल सरकारले तोकेको पारिश्रमिक नपाएको भन्दै बालविकास शिक्षकहरुले धर्ना दिएका हुन । उनीहरुले सरकारको निर्णय अनुसार नगरपालिकाले थप गर्नुपर्ने रकम थप नगरेर अन्याय गरेको भन्दै धर्नामा बस्नु परेको विदुर नगरपालिका बालविकास शिक्षक समितिका अध्यक्ष भगवती खनालले बताइन ।
नगरपालिका गेटमा धर्ना बसेका शिक्षकहरुले नगरपालिकाले आफूहरुको माग सम्बोधन नगरेसम्म धर्ना जारी रहने बताएका छन् । विदुर नगरपालिकामा झण्डै तीनसय बालशिक्षकहरु कार्यरत रहेका छन् । नेपाल सरकारले आर्थिक वर्ष २०७८। ०९८ को बजेट बक्तव्य मार्फत बाल शिक्षककको तलब १५ हजार बनाउने निर्णय गरेको थियो । नेपाल सरकारबाट साढे सात हजार र सम्बन्धित स्थानीय तहले त्यतिनै रकम थप गरेर दिने निर्णय गरेको थियो ।
तर कतिपय पालिकाहरुले त्यसको कार्यान्वय गरेका छैनन् । विदुर नगरपालिकाले पनि आर्थिक स्रोत नपुगेको भन्दै आइतबार सार्वजनिक गरिएको बजेटमा बाल शिक्षकहरुको तलब थप गरेको छैन । विदुर नरपालिकाले भने गत आर्थिक वर्षमा आर्थिक स्रोतको सुनिश्चितता नभएको भन्दै पाँच हजार मात्रै थप गरेको थियो । नगरपालिकाले आगमी आर्थिक वर्षबाट २ हजार बढाउने आश्वासन दिएको तर बजेटमा बालविकास शिक्षकका विषयमा सम्बोधन नगरेको उनीहरुको गुनासो रहेको छ ।
पछिल्लो समय नुवाकोट जिल्लामा मात्रै तीन हजार भन्दा बढि बाल शिक्षकहरु कार्यरत रहेका छन् । बाल विकास शिक्षकहरुले भने आफूहरुले प्रावि शिक्षकले पाउने सरहको सेवा सुविधा माग गर्दै आएको भएपनि नेपाल सरकारले यस विषयमा निर्णय गरेको छैन । कतिपय बालशिक्षकहरु २० औ वर्षदेखि कार्यरत भएको र आफूहरुमाथि अन्याय भएको बताउँदै आएका छन् ।बालशिक्षकलाई तालिमदेखि कुनै पनि सेवा सुविधा नभएको र आफूहरु अपहेलित भएको गुनासो गरेका छन् ।