
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । देउवा निवास बुढानीलकण्ठ पुगेर मिस्रीले देउवालाई भेटेको देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
भेटमा पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित निकट र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा छलफल भएको सभापति देउवाले बताउनु भएको छ । ‘हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित निकट र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित थियो,’ देउवाले लेख्नुभएको छ ।
मिश्री आइतबार बिहान नेपाल भ्रमणमा आएका हुन् । उनले यसअघि सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग र शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका थिए ।