
बेलकोटगढी । बेलकोटगढी वडा नं .१० मा हरितालिका तीजका अवसरमा भव्य रूपमा सम्पन्न भएको छ। महिलाहरूको महान पर्वलाई लक्षित गर्दै महिला सञ्जाल र बेलकोटगढी वडा नं १० ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि उपमेयर शिव दाहाल, वडा नं १० का अध्यक्ष प्रल्लादप्रसाद थपलिया,बेलकोटगढी वडा नं ९ का वडा अध्यक्ष दुर्गा प्रसाद गजुरेल, महिला नेतृ पवित्रा पुडासैनी उपस्थित रहनुभएको थियो ।
कार्यक्रममा उपस्थित महिलाहरुले परम्परागत तीज गीत र नृत्य, दर खाने कार्यक्रम, तथा विभिन्न सांस्कृतिक प्रस्तुति मार्फत नाचगान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि उपमेयर शिवप्रसाद दाहालले कार्यक्रममा तीज पर्वले महिलामा मात्र उत्साह र जीवन्तता प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, यसले हाम्रो समाजमा मेलमिलाप, सद्भाव र सामाजिक ऐक्यबद्धता पनि सुदृढ पार्छ। यस प्रकारका सांस्कृतिक कार्यक्रमले हाम्रो संस्कृतिलाई जगेर्ना गर्ने मात्र होइन, समुदायका सबै सदस्यलाई सँगै ल्याउने भूमिका पनि खेल्दछ। सहभागी दिदीबहिनीहरूलाई मेरो तर्फबाट हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु,।

वडा नं १० अध्यक्ष प्रल्लादप्रसाद थपलियाले भन्नुभयो,तीज हाम्रो धार्मिक र सांस्कृतिक परम्पराको महत्वपूर्ण पर्व हो। यसले महिलामा उत्साह, जीवन्तता र समाजमा आपसी सहयोगको भावना बढाउँछ। आजको कार्यक्रममा सहभागी दिदीबहिनीहरूले परम्परागत गीत, नृत्य र सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो कला प्रस्तुत गर्नु भएकोमा हामी गर्व महसुस गर्दैछौं। यस किसिमको कार्यक्रमले समुदायमा सामाजिक एकता र सांस्कृतिक चेतना बढाउने महत्वपूर्ण भूमिका खेल्दछ। सबै सहभागीहरूमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु,।
महिला सञ्जालकी अध्यक्ष गीता पाठकले सांस्कृतिक कार्यक्रममार्फत उत्साहित गर्नु मात्र होइन, महिलाको सशक्तिकरण र सामाजिक सहभागितालाई प्रवर्द्धन गर्नु पनि भएको बताईन । महिला सञ्जाल र बेलकोटगढी–१० वडा कार्यालयको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको थियो। सहभागीहरूले पर्वको उल्लास र ऐक्यबद्धतामा सहभागी भई सामाजिक सम्बन्ध प्रगाढ बनाउने अवसर पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।
कार्यक्रमको क्रममा बेलकोटगढी निरञ्जना महिला सञ्जालद्वारा २०८० पौष १४ गतेदेखि २०८२ बैशाख २५ गतेसम्म सञ्चालित नीति पञ्चैबाज सिप विकास तालिममा सक्रियतापूर्वक भाग लिएको सहभागिहरूलाई प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो।