
६ भदौ, काठमाडौं । शिक्षा विधेयकमा आफूहरुमा माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार (आज) पत्रकार सम्मेलन गर्दै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महासंघका अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।
यस्तै भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम रहेको छ । महासंघले भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरेको छ ।
महासङ्घले शिक्षा समितिबाट पारित भएको विधेयक आफूहरूको असन्तुष्टिको बाबजुद पारित गरेको आरोप लगाएको छ । प्रस्तावित शिक्षा विधेयक शिक्षकविरोधी र सहमतिअनुसार नभएको भन्दै विधेयक तत्काल फिर्ता गर्न माग गरेको छ।