
महादेवफाँट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ७ महादेवफाँटमा रहेको महादेव बहुमुखी क्याम्पस स्थापनाको १३ औं वर्ष अघिबढि रहँदा उत्कृष्ट नतिजासहित विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।
२०६९ स्थापित क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गत गुणस्तरीय र किफायती शिक्षा प्रदान गर्दै आइरहेको छ । क्याम्पस सञ्चालनको १३ वर्षमा धेरै राम्रा विद्यार्थी उत्पादित भएको क्याम्पस प्रमुख शंकर नेपालले नुवाकोट पुकारलाई बताउनुभयो । बीबीएस र बीएडका दुई महत्वपूर्ण कार्यक्रमकासाथ क्याम्पस सञ्चालन हुँदै आएको छ ।
कलेज सञ्चालनको उद्देश्य दक्ष, जिम्मेवार र आत्मविश्वासी स्नातकहरूको विकास गर्नु नै भएको क्याम्पसले आफ्नो मुख्य लक्ष्यमा समेटेको छ । क्याम्पस प्रमुख नेपालले कलेजले विगतका वर्षहरुमा शतप्रतिशत नतिजा ल्याउन सफल भएकाले विद्यार्थीहरुका लागि महादेव बहुमुखी क्याम्पस जिल्लाको उच्च शिक्षाका लागि शैक्षिक अव बन्न सक्ने बताउनुभयो ।
विगत वर्षहरुदेखि नै कलेजको क्याम्पस प्रमुख अर्थात प्रशासनिक नेतृत्व गर्दै आउनु भएका नेपालले विद्यार्थीहरुमा प्लस टु पास गरेपछि गाउँमा बस्न नहुने भाष्य निर्माण भएकाले विद्यार्थीहरुको संख्यामा कमि हुँदै गएको भएपनि आफूहरुले जति विद्यार्थी उत्पादन गरेको छ त्यसलाई सफल बनाउन लागिपरेको बताउनुभयो ।
महादेव माध्यमिक विद्यालयको भवनमा नै बिहानी शत्रमा कक्षा सञ्चालन हूँदै आएको कलेजका लागि उपयुक्त खेल मैदान, प्रयाप्त मात्रामा भवनसहितको सुविधा रहेकाले गाउँमा नै सस्तो र सरल रुपमा स्तानकतह अध्ययन गर्न पाइने भन्दै क्याम्पस प्रमुख नेपालले आम अभिभावकहरुले पनि यसमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, त्रिदेशीय मार्गका रुपमा रहेको गल्छी – त्रिशूली सडक खण्डको नजिकै भएकाले नुवाकोट र धादिङको गल्छी गाउँपालिकाका विद्यार्थीहरु समेत पायक पर्ने ठाउँ हो, यसलाई सफल बनाउन सकियो भने भोलिका पुस्ताले गाउँमा नै बसेर उच्च शिक्षा अध्ययन गर्न पाउनेछन् । यो महत्वपूर्ण कुरा हो, आम अभिभावक र राजनीतिक दलहरुले पनि बुझ्नुपर्दछ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्ररमण खनालले कलेजका लागि आवश्यक भौतिक पूर्वाधारसहतिका सबै व्यवस्था भएकाले विद्यार्थीहरु स्नातहतहमा अध्ययनगर्न टाढा जानुनपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, हामी विद्यार्थीलाई गुणस्तरीय सेवा दिन तयार छौं, गुणस्तरीयतामा कुनै सम्झौता गर्दैनौं यो सबैले बुझ्न जरुरी छ ।
बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले सो भेगका लागि उति उपयुक्त स्थानमा क्याम्पस सञ्चालन भएकाले यसलाई सफल र गुणस्तरीय बनाउने सबैको जिम्मेवारी भएको भन्दै नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विद्यार्थीहरुका लागि क्याम्पसले यस वर्षको लागि प्रथम वर्षमा समेत भर्ना खुला गरिसकेको छ ।क्याम्पस प्रशासनका अनुसार यस वर्षका लागि भाद्र १ गतेबाट फाराम वितरण सुरु भएको र भाद्र १५ गतेबाट कक्षा सञ्चालन हुने जनाएको छ ।
क्याम्पसले विद्यार्थी भर्नाका लागि छात्रवृत्तिको व्यवस्था समेत गरेको जनाएको छ । कलेज प्रशासनले दिएको जानकारी अनुसार एकाघरमा तीन जना अध्ययन गर्दै गर्दा एक जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । यस्तै व्यवस्थापन संकायका विद्यार्थीहरुका लागि बैंकहरुमा नै लगेर इन्टर्नपिस गराईने छ भने कलेजको पुस्तकालयबाट अध्ययनका लागि पाठ्यपुस्तक उपलब्ध हुनेलगायतका सुविधा समेत रहेको जनाएको छ ।