
१८ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजको समयसीमा सकिँदा पनि सामाजिक सञ्जाल दर्ताका लागि कुनै पनि संस्था नआएको बताएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले कुनै पनि सामाजिक सञ्जाल साँझ ५ बजेसम्म दर्ताका लागि नआएको बताउनुभयो ।
यसअघि टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका थिए । तर फेसबुक लगायतका संस्था अन्तिम समयसीमामा पनि दर्ता गर्न नआएपछि सरकारले यसबारेमा समय थप गर्ने वा उक्त सञ्जाललाई निश्क्रिय गर्ने भन्ने निर्णय गर्ने बुझिएको छ ।सम्पर्कमा समेत नआएका सामाजिक सञ्जाललाई बन्द गरेरै छाड्ने अडान सरकारको रहेको छ । यसबारेमा आज नै निर्णय गर्ने बताइएको छ ।