
पत्नी सिता दाहाललाई दागबत्ती दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल,साथमा छोरीहरु रेणु र गंगा दाहाल ः तस्बिर , नुावकोट पुकार डटकम
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी तथा नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आज पशुपति आर्यघाटमा स्वर्गीय दाहालको राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिएको थियो । पत्नी सीतालाई प्रधानमन्त्री प्रचण्डले दागबत्ती दिनुभएको थियो । निकै भावुक मुद्रामा रहनु भएका दाहालले आफूलाई सम्हाल्न निकै कठिन भएको देखिन्थ्यो ।
दाहालसँगै रहेका उहाँका छोरीहरु रेणु र गंगा पनि उत्तिकै भावुक अवस्थामा थिए । नेकपा माओवादीका नेता कार्यकर्तादेखि सर्वसाधारणहरु समेत दाहाललाई अन्तिम श्रद्धाञ्जली दिनका लागि पशुपति आर्यघाटमा पुगेका थिए । स्वर्गीय दाहालको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको थियो । त्यस लगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति सम्मान प्रकट गरेको छ ।
यस्तै दाहाललाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न दलका शीर्ष नेताको उपस्थिति थियो । दाहालको बुधबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।
हिन्दु परम्परा अनुसार दाहालको अन्त्येष्टि गरिएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले जेठी छोरी ज्ञानु दाहाल र छोरा प्रकाश दाहालको शोक सहनुपरेको थियो । प्रधानमनत्री दाहाललाई जस्तोसुकै कठिन अवस्थामा पनि साथ दिँदै आउनु भएकी सिता दाहाल लामो समयदेखि मत्युसँग जुधिरहनु भएको थियो । छोरा प्रकाशको निधनपछि शोकमा रहनु भएकी दाहाल त्यसपछिका दिनमा भने प्राय अस्वस्थ नै रहँदै आउनु भएको थियो । यसैबीच नेपाली कांग्रेस, एमाले, माओवादी लायतका दलहरुले दाहाललाई परेको पत्नीशोकप्रति दुःख् व्यक्त गर्दे समवेदना प्रकट गरेका छन् ।