
भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका भएको छलफलका क्रममा तस्बिर खिचाउँदै तस्बिर ः महतको नीजि सचिवालय
काठमाडौँ । भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।
छलफलका क्रममा भारतीय सहायताबाट नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिनुभएको अर्थमन्त्री डा महतको सचिवालयले जनाएको छ ।
भारतका अर्थमन्त्रीले एनपिएचएल र भारतको इन्टरनेसनल पेमेन्ट लिमिटेडबीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गर्नुभएको छ । जवाफमा अर्थमन्त्री महतले उक्त परियोजना छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम भइरहेको बताउनुभयो ।
भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यावसायिक सम्भाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकाले सो क्षेत्रमा लगानी बढाउन समेत अर्थमन्त्री डा महतले अनुरोध गर्नुभएको छ ।
जी–२० सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा गरी सहभागी हुने अवसर दिनुका साथै यो मञ्चमा नेपाल लगायत कम आय भएका देशको सरोकारका विषय राख्न अवसर दिएकोमा धन्यवाद दिँदै जी–२० को गतिशील एवं सबल नेतृत्व लिएकोमा अर्थमन्त्री डा महतले भारतलाई बधाई दिनुभयो । आपसी हितका क्षेत्रमा आगामी दिनमा सम्बन्ध विस्तार गर्दै जानुपर्नेमा दुवै देशका अर्थमन्त्रीले जोड दिनुभएको थियो । रेडियो नेपाल अनलाइनबाट