
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज ४ बजे बस्दैछ । सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बैठक दिउँसो ४ः०० बजे बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नहरुको उत्तर दिने कार्यक्रम राखिएको छ ।
केन्द्रीय सदस्यसहित पार्टीका सबै पदाधिकारीहरुले बोलिसकेका छन् । आज सभपाति देउवाले मात्रे बोल्ने र पार्टीको निर्णय उपसभापति पूर्णबहादुर खड्काले सार्वजनिक गर्ने बताइएको छ । यसअघि हिजो बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुसँगको छलफलमा पार्टीको विधान महाधिवेशन मंसिर पहिलो हप्ता गर्ने समझादारी बनेको छ ।
यस्तै पार्टीका महामन्त्री गगन थापाले पेश गर्नुभएको पार्टीका एक वर्षे कार्यक्रमलाई केही परिमार्जन गरेर पारित गरिने छ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँडलाई भने निलम्बन नगरिने भएको छ । सर्वोच्च अदालले मुद्दाको किनारा लगाएपछि मात्रै यस विषयमा निर्णय गरिने कांग्रेसले जनाएको छ । यस्तै महामन्त्री थापाले पेश गर्नु भएको फरक मतका विषयमा पनि पार्टीले सम्बोधन नगर्ने बुझिएको छ ।
साउन २ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीभित्रको विवादलाई समाधान गरेर पार्टीलाई एक बनाउन सुझाव दिएका थिए । उता केन्द्रीय समिति बैठक चलिरहेका बेला त्यसको नकारात्मक प्रचार गर्नेगरि भेला आयोजना गरिएकोमा कांग्रेसभित्र असन्तुष्टि बढेको छ । संस्थापन पक्षका एक नेताले नुवाकोट पुकारसँग भने, पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ त्यसको निर्णय नै नआउँदैमा पार्टीलाई नै असर पर्नेगरि नेताहरुमाथि आरोप लगाउने गरि गरिएको भेलाले पार्टीलाई क्षति पुग्ने देखिन्छ ।
उहाले रुपान्तरणका नाममा पार्टी विपरित गरिने भेलाको कुनै औचित्य नहुने समेत दावी गर्नुभयो । हिजो राजधानीको फुडल्याण्ड पार्टी प्यालेसमा कांग्रेस नेता शेखर कोइरालाको प्रमुख आतिथ्यतामा पार्टीका नोतहरु गुरु घिमिरे, चन्द्र भण्डारी, जगदीश्वरनरसिंह केसी, मधु आचार्यसहितका नेताहरुले केन्द्रीय समितको बैठकप्रति नै असन्तुष्टि जाहेर गरेका थिए ।