कांग्रेस संस्थापनइतरको साउनभित्र राष्ट्रिय भेला घोषणा, साउन ६ मा प्रज्ञा भवनमा बीपी स्मृति दिवस भव्य रूपमा मनाइने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३, आईतवार १७:५०

एकताका लागि अन्तिम प्रयास जारी रहेको दाबी, संस्थापन पक्षमाथि एकता प्रक्रियाबाट पछि हटेको निश्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको समूह (नियमित महाधिवेशन पक्षधर) ले पार्टीभित्रको आन्तरिक विवाद र पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्दै साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। आइतबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेताहरूले पार्टी एकताका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको र संस्थापन पक्ष एकता प्रक्रियाबाट पछि हट्दै गएको आरोप लगाए।


समूहले नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा साउन ६ गते काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रज्ञा भवन) मा बृहत् कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रम सफल बनाउन कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा काठमाडौंका नेता–कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूलाई समेत समेटिने जनाइएको छ। सोही कार्यक्रममा राष्ट्रिय भेलाको मिति, समय र स्थान सार्वजनिक गरिने जानकारी दिइएको छ।


पत्रकार सम्मेलनमा नेता मीनबहादुर विश्वकर्माले आफूहरूले जेठ ८ गते नै पार्टी एकतासम्बन्धी प्रस्तावहरू उपसभापति विश्वप्रकाश शर्मामार्फत संस्थापन पक्षलाई बुझाइसकेको भए पनि हालसम्म कुनै ठोस जवाफ नआएको बताए। उनले संस्थापन पक्षकै कारण एकता प्रक्रिया कमजोर बनेको आरोप लगाए।


बैठकले पार्टीभित्र ‘नियमित कि विशेष महाधिवेशन’ भन्ने विवादले कांग्रेसलाई विभाजनको संघारमा पुर्‍याएको निष्कर्ष निकालेको छ। निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयप्रति असन्तुष्टि जनाउँदै समूहले विधि, विधान र लोकतान्त्रिक प्रक्रियाअनुसार पार्टीलाई अघि बढाउन अझै पनि एकताको पहल जारी रहेको जनाएको छ।


उपसभापति विश्वप्रकाश शर्मामार्फत आएको प्रस्तावमाथि छलफल गर्दै संस्थापनइतर पक्षले १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका संरचनालाई समायोजन गरी गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने, सभापतिको बहुमत कायम रहने गरी कार्यसम्पादन समिति गठन गर्नुपर्ने, पुनर्गठित कार्यसमितिको पहिलो बैठकबाटै १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने, क्रियाशील सदस्यताको विवाद समाधान गरी यसअघि टुंगिएका सदस्यलाई स्वतः सहभागी गराउनुपर्ने तथा डिजिटल इन्ट्रीलाई नवीकरणको अनिवार्य सर्त नबनाउनुपर्ने लगायतका प्रस्ताव अघि सारेको जनाएको छ।


संस्थापनइतर पक्षले पार्टी एकताका लागि अन्तिम प्रयासस्वरूप साउन ५ गतेसम्मको समयसीमा दिएको पनि जनाएको छ। उक्त अवधिभित्र सहमति हुन नसके साउन महिनाभित्रै राष्ट्रिय भेला आयोजना गरी आगामी राजनीतिक रणनीतिबारे निर्णय लिने चेतावनी दिएको छ।


पत्रकार सम्मेलनमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, एनपी साउद लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। उक्त समूहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति समेत चिन्ता व्यक्त गर्दै बढ्दो महँगी, कालाबजारी, कृत्रिम अभाव, वर्षायाममा सुकुम्बासीमाथिको व्यवहार तथा नागरिक अधिकारकर्मीमाथि भइरहेको धरपकडप्रति आपत्ति जनाएको छ। साथै बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेको छ।






तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *