नुवाकोट । गत भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणअन्तर्गत विदुर नगरपालिका–५ देवीघाटबाट बेलकोटगढी नगरपालिका–८ जोड्ने तादी खोलामा ‘एक्रो ब्रिज’ निर्माण सम्पन्न भएको छ।
नेपाली सेनाको प्राविधिक टोलीले पाँच दिनमा पुल निर्माण सम्पन्न गरेको हो। नेपाली सेनाका मेजर सेनानी चिरञ्जीवी चौलागाईंको नेतृत्वमा ५७ जनाको टोली पुल निर्माणमा खटिएको थियो।
७० टन भारवहन क्षमता रहेको उक्त एक्रो ब्रिजको लम्बाइ ५७.७ मिटर र सवारीसाधन गुड्ने चौडाइ ५.५ मिटर रहेको छ। पुल बिहीबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
पुल निर्माणका क्रममा आवश्यक ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्टलगायत निर्माण सामग्री विदुर नगरपालिकाले उपलब्ध गराएको नगरपालिकाले जनाएको छ। बाढीपछि तादी खोला वारपार गर्न कठिनाइ भइरहेको अवस्थामा नयाँ पुल सञ्चालनमा आएपछि देवीघाट–बेलकोटगढी क्षेत्रको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
गत भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका २२ वटा मोटरेबल पुलमा क्षति पुर्याएको/बगाएको थियो। बाढीबाट विच्छेद भएको सडक सञ्जाल पुनः जोड्न नेपाली सेना तथा सम्बन्धित निकायले अन्य स्थानमा समेत अस्थायी तथा वैकल्पिक पुल निर्माणको तयारी अघि बढाएका छन्।
बेत्रावती, त्रिशूलीलगायतका स्थानमा पनि पुल निर्माण गर्ने तयारी भइरहेको जनाइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्