काठमाडौँ — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विशेष अधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएसँगै आफूहरूको आधाभन्दा बढी जित भइसकेको दाबी गरेका छन्।
भक्तपुर कांग्रेसले बीपी जयन्तीका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा देउवाले विशेष अधिवेशनसम्बन्धी विवादमा आफूहरू कुनै हालतमा पछि नहट्ने बताए। सर्वोच्च अदालतले वैशाख ४ मा गरेको फैसलामाथि पुनरावलोकनका लागि निस्सा दिएको उल्लेख गर्दै उनले जतिसुकै दबाब र षड्यन्त्र भए पनि अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे।
‘कुनै पनि हालतमा यसलाई पुनरावलोकनबाट कांग्रेसको आधिकारिकता हामीले पाउने कुरा रोक्ने कोसिस भएको छ। कुनै हालतमा मान्दैनौँ,’ देउवाले भने, ‘जतिसुकै षड्यन्त्र गरे पनि अदालतबाट न्याय पाउँछौँ भन्ने विश्वास छ।’
उनले कांग्रेसको विधानमै विशेष अधिवेशन बोलाउने व्यवस्था रहे पनि त्यसमा सहभागी हुने प्रतिनिधिको सनाखत अनिवार्य हुने बताए। विशेष अधिवेशन पार्टीले नै बोलाउने र प्रतिनिधि कुन जिल्ला, गाउँपालिका तथा निर्वाचन क्षेत्रबाट आएका हुन् भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।
विशेष अधिवेशनका लागि गगन थापाले आवाज उठाएपछि आफूले पनि अधिकार भए अधिवेशन बोलाउन सकिने तर सहभागी प्रतिनिधिको सनाखत हुनुपर्ने धारणा राखेको देउवाले बताए।
आफू पार्टी सभापति हुँदाहुँदै जानकारी नदिई विशेष अधिवेशन बोलाइएको दाबी गर्दै देउवाले भने, ‘मलाई थाहा छैन, विचार गर्छु भनेर गएका थिए, बोलाइदिए। पार्टीको खल्तीबाट नाम हालेर सनाखतबिनै विशेष अधिवेशन बोलाइदिने?’
विशेष अधिवेशनको प्रक्रियामा निर्वाचन आयोगले समेत सुरक्षा चुनौतीको विषय उठाएको देउवाले बताए। गगन थापाको नेतृत्वमा बनेको केन्द्रीय कार्यसमितिलाई आयोगले ‘ज्यानको खतरा’ रहेको कारण मान्यता दिएको आफूले सुनेको उनको दाबी थियो।
विशेष अधिवेशनसम्बन्धी विवाद लिएर सर्वोच्च पुगेको र अदालतले निर्वाचन भइसकेको अवस्थामा अब के गर्ने भन्ने प्रश्न उठाएपछि आफूहरू पुनरावलोकनमा गएको देउवाले बताए। ‘हामी पुनरावलोकनमा गयौँ, निस्सा दियो। हाम्रो आधाभन्दा बढी विजयी भइसक्यो,’ उनले भने।
देउवाले विगतमा समेत सर्वोच्च अदालतबाट आफूले न्याय पाएको प्रसंग उल्लेख गर्दै अदालतप्रति आफ्नो विश्वास कायमै रहेको बताए। विशेष अधिवेशन विवादमा पनि अदालतले निष्पक्ष निर्णय गर्ने उनको विश्वास छ।
‘सर्वोच्च अदालतले न्याय दिने कुरामा विश्वास छ। जतिसुकै दबाब दिए पनि विश्वास छ,’ देउवाले भने, ‘निस्सा जसले दिएको छ, त्यस्तो रुख र चारतारे झन्डा हामीले पाउनेछौँ भन्ने विश्वास लिएको छु।’
कार्यक्रममा देउवाले आफू छिट्टै देशबाहिरका कार्यक्रममा सहभागी हुने र त्यसपछि देशका विभिन्न स्थानमा पुग्ने पनि बताए। पार्टीभित्र उत्पन्न भ्रम र असमझदारी हटाउन आफूले साथीभाइसँग संवाद गर्ने उनको भनाइ थियो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्