
काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आजबाट ,जनतासँग माओवादी रुपान्तरण, कार्यक्रमको सुरुवात गरेको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुसार आजदेखि ३ महिना माओवादीले ७७ वटै जिल्लाको सबै वडामा पुगेर जनतासँग माओवादी कार्यक्रममा सहभागिता जनाउने जनाइएको छ ।
आज माओवादी केन्द्रले देशका ६ हजार ७ सय ४३ वटै वडामा एकैपटक अभियानको उद्घाटन गर्दैछ । ‘जनजनमा माओवादी, मनमनमा माओवादी’को नारासहित हरेक गाउँबस्ती र जनताको घर घरमा पुग्ने लक्ष्यसहित माओवादी केन्द्रले आजदेखि ३ महिने अभियान सुरु गरेको हो । २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने गरी माओवादीले ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने भएको हो ।
सरकारले चालेका कदमलाई ठूलो जनसमर्थन प्राप्त भएको पनि माओवादीको दाबी छ । अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्याउने गरी पार्टी र जनवर्गीय संगठन मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।
कार्यक्रममा जनताका कुरा टिपोट गर्नुका साथै त्यसलाई लिएर आपर्टीको आगामी रणनीति बनाउने सोही अनुसार विकास निर्माणका योजनालाई पनि अघि बढाउने माओवादीको लक्ष्य रहेको छ । पछिल्लो समय माओवादी सत्ता केन्द्रीत भएको र पार्टीमा सुकिला मुकिलाले मात्रै अवसर पाएको भन्दै नेतृत्वको आलोचना भएपनि केही गत साउनमा सम्पन्न भएको केन्द्रीय समितिको बैठकले जनतासम्म नै पुगेर पार्टी र संगठनलाई अघि बढाउने निर्णय गरेको थियो ।
सो निर्णय अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल समेत सात वटा वडामा पुगेर जनतसाँग राय लिने घोषणा गर्नुभएको थियो । यसैबीच नुवाकोट जिल्लाको ८८ वटै वडामा कार्यक्रम आयोजना गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ । आज माओवादीले जिल्लाका अधिकांश वडामा कार्यक्रम आयोजना गरेको छ