मनसुनी वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २५, बिहीबार ०७:५९



काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले अधिकांश भूभागमा बदलीसँगै वर्षा भइरहेको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।


आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।


यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। मधेससहित बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा कोशी र लुम्बिनीका तराई भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना छ।


कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा मधेससहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थान, पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक आवागमनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *