
काठमाडौं । सरकारले आज आन्दोलनरत राहत शिक्षकहरुसँग वार्ता गर्ने भएको छ । सरकारी स्रोतले दिएको जानकारी अनुसार नेपाल शिक्षक महासंघ संघ भएको सहमतिलाई टेकेर सरकारले राहत शिक्षकहरुसँग वार्ता गर्ने तयारी गरेको हो । नेपाल सरकार र नेपाल शिक्षक महासंघबिच भएको ६ बुँदे सहमतिलाई अस्वीकार गर्दै राहत शिक्षकहरु लगातार आन्दोलन गरिरहेका छन् । उनीहरुले माइतीघर मण्डलाबाट बानेश्वरसम्म सभा जुलुस गर्दै आइरहेका छन् ।
शिक्षक महासंघ र सरकारबीच भएको सहमति अनुसार ५० प्रतिशत राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने सहमति भएको थियो । तर राहत शिक्षकले भने शतप्रतिशत राहत शिक्षकलाइृ स्थायी गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् । मुलुकभर करिब ४० हजार राहत शिक्षक कार्यरत रहेका छन् । यस्तै इसिडि, विद्यालय कर्मचारी र पेन्सन बञ्चित शिक्षकहरुसँग पनि सँगसँगै वार्ता हुँदैछ ।
सरकारले २०७६ सालपछि स्थायी भएका शिक्षकहरुलाई पेन्सनको सुविधाबाट बञ्चित गरेको भन्दै उनीहरु पनि आन्दोलित भएको छन् । आजको वार्ताको नेतृत्व सरकारी वार्ता टोलीका संयोजक तथा उपप्रधान एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठले गर्नुहुने बताइएको छ । गृहमन्त्रालयमा उपराह्रन्न हुने वार्ताका राहत शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष खेमराज अधिकारी, महासचिव कुमार बजगाइँकोा टोलीले नेतृत्व गर्ने बताइएको छ ।