
काठमाडौँ । सरकार र आन्दोलनरत राहतका शिक्षकबीच सहमति भएको छ । आज शुक्रबार शिक्षा मन्त्रालयमा भएको वार्तापछि सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको हो । सहमतिसँगै शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका राहतलगायतका शिक्षकहरु १० दिनयता आन्दोलनमा उत्रेका थिए । सरकारले शिक्षक महासंघसँग गत शुक्रबार सहमति गरेपनि राहतले आन्दोलन जारी राखेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिका महासचिव कुमार बजगाईकाअनुसार आन्दोलनरत पाँच वटा संगठनसँग सरकारले अलग अलग वार्ता गरेर सहमति गरेको हो । जसमा राहत, बालविकास,पेन्सनबाट वन्चित र विद्यालय कर्मचारी रहेका थिए ।
सहमतिपत्रमा आन्दोलनरत शिक्षकका मागका विषयमा शिक्षा विधेयकलाई संशोधन गरेर जाने विषयमा छलफल अघि बढाउने, आन्दोलनका क्रममा घाइते भएका शिक्षकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने, आगामी दिनका शिक्षकहरुको मागका विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग निरन्तर समन्वय गर्ने लगायतका सहमतिपत्रमा हताक्षर भएको छ ।


