
काठमाडौं । सरकारसँग भएको सहमतिको मसि सुक्न नपाउँदे फेरि चिकित्सकमाथि भौतिक आक्रमण भएको छ ।काठमाडौं मेडिकल कलेजको नेफ्रोलोजी ओपिडीमा कार्यरत इन्र्टन चिकित्सक मनिष खड्कामाथि अराजक व्यक्तिहरुद्वारा भौतिक आक्रमण गरी घाइते बनाएको छ ।
उक्त घटनालाई लिएर नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै चिकित्सक संघ स्तब्ध भएको जनाएको छ । संघले भनेको छ,हिजो मात्र नेपाल सरकारसँग गरिएको सम्झौता मसि सुक्न नपाउँदै आज स्वास्थ्य सेवा प्रवाहका लागि खटिएको अवस्थामा चिकित्सकमाथि गरिएको अत्यन्तै अमानवीय र कायर भौतिक आक्रमणको जति निन्दा गरे पनि कमै हुन्छ । अपराधिक मानसिकता बोकी स्वास्थ्य संस्थामा प्रवेश गरेर चिकित्सकमाथि नै कार्यरतापूर्वक आक्रमण गर्ने दोषिलाई अबिलम्ब स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन सहित) र संघसँग २०८० भाद्र ३१ गतेको सम्झौता बमोजिम कडा भन्दा कडा कारवाही गर्न माग समेत गरिएको छ ।
काठमाडौं मेडिकल कलेजमा कार्यरत चिकित्सकहरुले यसका विरुद्ध उठाउनु भएको बुलन्द आवाजप्रति नेपाल चिकित्सक संघ ऐक्यबद्धता जाहेर गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका निम्ती नेपाल चिकित्सक संघ कटिबद्ध रहँदै विषमपूर्ण परिस्थितिमा देशभरका सम्पूर्ण चिकित्सकहरु संघसँग एकताबद्ध भई बलियो कानूनी संयन्त्रका लागि नेपाल सरकारलाई निरन्तर घचघचाई रहन र यस्ता आततायी घटनाबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरु हतोत्साही नहुन समेत आग्रह गरेको छ ।