मौसम प्रतिकूल भएपछि नुवाकोट कांग्रेसका पालिका र क्षेत्रीय अधिवेशन स्थगित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ८, बिहीबार १७:३६



नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले लगातारको वर्षा, बाढी प्रभावित क्षेत्रमा बाटोको असुविधा तथा प्रतिकूल मौसमका कारण पालिका र क्षेत्रीय अधिवेशन स्थगित गरेको छ।

नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिले बिहीबार जारी गरेको सूचनाअनुसार असोज ९ गते हुने पालिका स्तरीय अधिवेशन तथा असोज १२ गते हुने प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो।


सूचनामा मौसमको विषम परिस्थिति, बाढी प्रभावित क्षेत्रमा आवागमनमा समस्या, केही वडाबाट वडा अधिवेशनसम्बन्धी कागजात प्राप्त भइनसकेको तथा जिल्लामा निरन्तर भारी वर्षा भइरहेकाले मानवीय सुरक्षालाई समेत ध्यानमा राखी अधिवेशन स्थगित गरिएको उल्लेख छ।


जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रत्न सुन्दर श्रेष्ठद्वारा जारी सूचनामा मौसम अनुकूल भएपछि तत्काल अर्को सूचना प्रकाशित गरी अधिवेशन सम्पन्न गरिने जनाइएको छ।

यसअघि प्रकाशित निर्वाचन तालिकाअनुसार नुवाकोटमा असोज ९ गते पालिका र असोज १२ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तोकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *