
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र प्रदेश अधिवेशनमा गुटबन्धीको प्रभाव देखिएको भएपनि उपत्यकता विशेष प्रदेशमा भने सर्वसम्वत रुपमा नेतृत्व चयन भएको छ । हिजो अबेर सम्पन्न भएको प्रथम अधिवेशनबाट प्रेम पराजुलीको अध्यक्षतामा सम्पूर्ण कमिटी सर्वसम्मत निर्वाचित भएको जनाइएको छ । उपमहासचिव चन्द्र रिजालले सहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा जिफन्टका उपाध्यक्ष विदुर कार्की ,सचिवमा पार्टी स्कुल विभागका सदस्य मिलेन धरेल ,उपसचिवमा जिफन्टकै उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएका छन । गैह्रभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको सदस्यहरू पनि सबै निर्विरोध निर्वाचित भएका छन । कुल तीन सय चार प्रतिनिधि रहेको अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
उपत्यका प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको अधिवेशनमा पार्टी नेताहरुले सर्वसम्वतको प्रयास गरेका कारण त्यो सम्भव भएको बताइइनछ । अध्यक्षको उम्मेदवारी फिर्ता लिएका रिजाललाई पार्टीले अन्य तहमा व्यवस्थापन गर्ने सहमति भएको प्रदेश कमिटिका निर्वाचित भएका एक पदाधिकारीले नुवाकोट पुकार डटकमलाई बताए ।