
विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका विषयमा कांग्रेसभित्र दुई धार देखिएको छ । पार्टीको संस्थापन पक्षले माओवादी केन्द्रलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सहमति जुटाएको केही घण्टामा नै कांग्रेस संस्थापनइतर समूहका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेका छन् । स्रोतका अनुसार कोइराला पक्षले ८ प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन गरेको छ । पार्टी नेतृत्वले माओवादीलाई मुख्यमन्त्री छाड्ने संकेत गरेपछि कोइराला पक्षले त्यसलाई अस्वीकार गर्ने संकेत स्वरुप खाली कागजमा प्रदेश सदस्यहरुको हस्ताक्षर गराएको बताइएको छ ।
कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा छन् ।तर आठ जनाले मात्रै हस्ताक्षर गरेको बुझिएको छ। उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र केदार कार्कीले हस्ताक्षर गरेका छन् । यस्तै कोइराला पक्ष भनेर चिनिएका गयानन्द मण्डलले भने खाली कागजमा हस्ताक्षर नगरेको बताइएको छ ।
कांग्रेस संस्थापन पक्षका २० सांसदले भने कुनै प्रतिक्रिया दिएका छैनन् । कांग्रेसका उद्धव थापा केही समयअघि मुख्यमन्त्री भएपनि सभामुखको समेत आशनमा बसेर मत दिएको भन्दै उनको मुख्यमन्त्री पद असंवैधानिक भएको फैसला सुनाएपछि त्यहाँ राजनीतिक अस्थिरता बढ्दै गएको छ । पाँचौ पटक सरकार बन्ने तयारी भएपनि यस पटक पनि बहुमत जुट्ने सम्भावना देखिएको छैन । दलहरुबीच अब पनि सहमति हुन सकेन भने कोशीमा मध्यावधी निर्वाचनतर्फ जाने अवस्था आउने छ ।