
काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्रीको लागि नेपाली कांग्रेसमा देखिएको आन्तरिक किचलोका कारण कांग्रेसभित्र खतराको घण्टी बजेको छ । पार्टी सभापतिसहितको उपस्थितिमा सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्री माओवादीलाई दिने सहमतिसँगै कांग्रेस संस्थापन इतर समूहले भने त्यसको प्रतिवाद स्वरुप एमालेसँग मिलेर अफ्नो पक्षका नेताहरुलाई मुख्यमन्त्री बनाउन कोसिस गरेको छ । कोशी प्रदेशसभामा कांग्रेसका २९ सीटमध्ये शेखर–गगन समूहका १० जना सांसद छन् । एमालेको साथ पाएपछि अहिले शेखर कोइराला समूहका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
उपसभामुख बाहेक एमालेका ३९ सांसद रहेको एमालेले साथ दिँदा कोइराला पक्षका ८ जनाले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । तर महामन्त्री गगन थापा पक्षका मानिने भोजपूर ख बाट निर्वाचित सांसद विनोद वान्तवाको हस्ताक्षर नगर्नुले भने शेखर कोइरालाको निर्णयमा महामन्त्री थापाको साथ छैन भन्ने स्पष्ट देखिएको छ । भोजपुर कांग्रेसका जिल्ला सभापति समेत रहेका उनी महामन्त्री थापाका विश्वास भनेर चिनिएका छन् ।
स्रोतका अनुसार महामन्त्री थापा पार्टीको आधिकारिक निर्णयबिना केदार कार्कीलाई मुख्यमन्त्री बनाउन नहुने पक्ष रहेकोले वान्तवाले हस्ताक्षर गर्न नामानेको हुन् । यस्तै संस्थापनिइतर पक्षकै मोरङ २ ख का सांसद गयानन्द मण्डलले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । ९२ सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ४७ सांसदको समर्थन आवश्यक छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार एउटै पार्टीका सांसदले स्वविवेकले कुनै सांसदलाई मुख्यमन्त्रीमा समर्थन गर्नसक्ने प्रावधान छ ।तर कांग्रेस संसदीय दललले निर्णय गरेर माओवादीका संसदीय दलका नेता इन्द्र आड्.बोलेलाई नै मुख्यमन्त्रीमा नियुक्त गरिने सम्भावना रहेको जानकारहरु बताउँछन् । एमाले कांग्रेसलाई फुटाएर सिंगो सत्ता राजनीतिलाई पुनः आफ्नो पक्षमा ल्याउने कसरत स्वरुप गरेको प्रयास कत्तिको सार्थक हुन्छ, बेलुकासम्ममा सबै छल्ड.ग हुनेछ ।
उता पार्टीका सांसदहरुलार्ई ह्रवीप नलाग्ने भएपनि पार्टीको निर्णय बेगर जान नैतिक रुपमा संकट पर्ने भन्दै आज कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बैठक बोलाएका छन् । उनले पार्टीको निर्णय नमान्ने प्रदेशसभा सदस्यहरुलाई कारबाही गर्ने संकेत गरिसकेका छन् । यसै विषयमा कांग्रेस केन्द्रले पनि पार्टीको निणर्य विपरित जाने छुट कसैलाई नभएको भन्दै त्यस्तोस्थित आए कारबाहीसम्म हुने चेतावनी दिइसकेको छ । पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले पार्टीको निर्णय विरुद्ध जानेलाई पार्टीले कारबाही गर्ने बताएका छन् । यसले पनि कांग्रेसको विवाद विभाजनसम्म जान्छ कि भन्ने आशंकाहरु सुरु भएका छन् । नेताहरुले बेलैमा यसलार्ई हल गर्न सकेनन् भने कांग्रेस फेरि दुर्घटनातर्फ जाने कुरामा पार्टीका नेता कार्यकर्ता भने चिन्तित रहेका छन् । कोशीको सत्ता स्वार्थको राजनीतिल संघीयताप्रति नै जनविश्वास गुम्दै गएको छ ।