
विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ७ स्थित ठुलो खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार आज बिहान अन्दाजी ५.३० बजेको समयमा नवदुर्गा मल्टिप्रडक्टस, मणिग्राम रुपन्देहीबाट चाउमिन बोकेर नुवाकोट आउंदै गरेको बा.प्र.०१.००६ ख ५६०६ ट्रक गल्छी – त्रिशुली सडकखण्डको बेलकोटगढी नगरपालिकाको ठूलो खोला स्थानमा आएपछि आफै अनियन्त्रित भै सडकबाट ८० मीटर तल खसेको थियो । उक्त दुर्घटनामा चालक, सहचालक र सोही कम्पनीमा काम गर्ने दिपक क्षेत्री गम्भिर घाइते भएकोमा तत्कालै उपचारको लागि त्रिशुली अस्पताल लगिएको थियो ।
उपचारका क्रममा गम्भीर घाइते भएक दिपक क्षेत्रीको भने उपचारकै क्रममा बिहान ६.५५ बजे सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ अन्य घाइते हरुको अवस्था सामान्य रहेको र सवारी चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि त्रिशुलि अस्पतालमा पठाइएको जनाइएको छ ।