काठमाडौँ, मङ्सिर ७ गते । कात्तिक शुक्ल एकादशी अर्थात् आज हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन रहेकोछ । हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ ।
एकादशीहरूमा सबैभन्दा ठुलो एकादशी हरिबोधिनीलाई मान्ने गरिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । असार शुक्ल एकादशीको दिन भगवान् विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । आज काठमाडौँको पशुपति नाथमा एकादशीको अवसरमा भक्तजनहरूले तोरन टाँग्ने गर्दछ ।

यसैबीच एकादशीको अघिल्ले दिन हिजो नुवाकोट जिल्लमा देवी मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको थियो । नुवाकोटको देवीघाट, भैरवी मन्दिर, झिल्केश्वरीलगायतका स्थानमा भत्तःजनहरुले रातभर जाग्राम बस्दै बत्ती बाल्ने तयार फलको डोली तार्ने कार्य समेत गरेका थिए ।