
गल्छी । नुवाकोट जिल्लाबाट सबैभन्दा बढि कर तिर्ने करदाता सम्मानित भएका छन् । १२ औं राष्ट्रिय कर दिवस २०८० का अवसरमा आयोजित कर सप्ताह समापन कार्यक्रममा नुवाकोट जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।करदाता सेवा कार्यालय गल्छीले गत आर्थिक वर्षमा नुवाकोटबाट सबैभन्दा बढी कर तिर्ने चार करदातालाई सम्मान गरेको छ ।
नुवाकोटबाट सम्मानित हुनेमा उद्योगतर्फ हाम्रो अक्सिजन प्रालि, व्यापारतर्फ स्पीड अटो इन्टरप्राइजेज, शैक्षिकतर्फ अर्किड एकेडेमी र वित्तीयतर्फ दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड रहेका छन् ।
यस्तै, धादिङका उद्योगतर्फ आरआर फर्म प्रालि, व्यापारतर्फ विके इन्टरप्राइजेज्, शैक्षिकतर्फ चिल्ड्रेन पार्क एकेडेमी र वित्तीयतर्फ भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सबैभन्दा बढी कर तिरेको भन्दै सम्मानित भएका छन् । गत आर्थिक वर्ष ०७९÷८० मा उद्योग, व्यापार, शैक्षिक र वित्तीय क्षेत्रका सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता संस्थालाई सम्मान गरिएको कार्यालयका प्रमुख शिखा वाग्लेले बताइन् । उनले कर सप्ताहमा गल्छी गाउँपालिकामा प्रभातफेरी र धुनेबेंसी नगरपालिकामा कर शिक्षा कार्यक्रम समेत संचालन गरिएको बताइन् ।