
विदुर । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले महासमिति बैठकको तयारी तिब्रताकासाथ अघि बढाएको छ । फागुन ७ गतेबाट हुने महासमिति बैठकका लागि प्रतिनिधि छनोटदेखि त्यसको अन्य व्यवस्थापनका लागि उपसमितिहरु सक्रियताकासाथ काम गरिरहेको नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । उहाका अनुसार नीतिगत र व्यवस्थापकीय तयारीका लागि १३ उपसमिति गठन गरिएका छन् ।
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको नीतिगत प्रस्ताव तयार समितिले प्रस्ताव तयार पारेको छ । यस्तै प्रतिनिधि छनोटका काम पनि भैरहेका छन् । समितिहरुले माघ मसान्तभित्र प्रतिनिधिको टुंगो लगाउने र ४ फागुनभित्र केन्द्रीय समिति बैठक राखेर प्रस्ताव र प्रतिनिधिको अनुमोदनलगायतका आवश्यक निर्णय लिने तयारी गरेको छ । यस्तै महासमिति सदस्य छनोट नभएका जिल्लाहरुलाई पनि माघ मसान्तसम्म प्रतिनिधि चयन गरेर पठाउनका लागि भनिएको छ । महाधिवेशनलाई व्यवस्थित बनाउनका लागि थप आठ उपसमिति गठन गरिएको छ ।
सभापति शेरबहादुर देउवाले बैठकलाई व्यवस्थित गर्न मीनबहादुर विश्वकर्माको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, मदनबहादुर अमात्यको संयोजकत्वमा आवास समन्वय उपसमिति,उदयशमशेर राणाको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, धना खतिवडाको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ । साथै, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जितजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, इन्द्र बानियाँको संयोजकत्वमा प्रदेश समन्वय उपसमिति, जितेन्द्र श्रेष्ठको संयोजकत्वमा स्थानीय व्यवस्थापन उपसमितिको गठन गरिएको छ । ८ असोजमा कांग्रेसले गरेको केन्द्रीय समिति बैठकले महासमिति बैठकले तयारीका लागि सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको थियो । बैठकले नीतिगत प्रस्ताव तयार गर्न उपसभापति खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति, सांगठनिक प्रतिवेदनको जिम्मा महामन्त्री थापा र समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तावको जिम्मा महामन्त्री शर्माले प्रस्तुत गर्ने निर्णय गरेको थियो ।
महामन्त्रीद्वयले छुट्टाछुट्टै एजेन्डालाई संयुक्त खाकाका रूपमा तयारी गरिरेहेका छन् । महामन्त्रीद्वयले सांगठनिक प्रस्ताव र समसामयिक राजनीतिक प्रस्तावको खाकालाई अभियानको विषय समेटेर अन्तिम रूप दिने तयारी गरिरहेको जानकारी दिएका छन् । कांग्रेसले माघ १६ गतेबाट सञ्चालन गरेको समुदायमा कांग्रेस अभियानबाट आएका सुझावहरुलाई समेत समेटेर महासमिति बैठकमा एजेण्डा प्रस्तुत गर्ने तयारी गरेको छ । तीन पटकसम्म स्थगित भएको कांग्रेस महासमिति बैठकले यस पटक भने भव्यताकासाथ सम्मन गर्ने विश्वस गरिएको छ । बैठकमा संस्थापन इत समुहले भने आफ्नो समुहलाई एक् बनाउँदै बैठकमा प्रस्तुत हुने तयारी समेत गरेको छ ।
