
विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिकाभित्र झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार माघ २७ गते विदुर न.पा.२ चुच्चे ढुङ्गा पाखो जंगल खोल्साको बिचमा रहेको अरेली काडाको लहरो रुखमा पहिचान नखुलेको अन्दाजी ३०÷३५ को पुरुष व्यक्ति नाम्लोको पासो लगाई झुण्डि मृत अवस्थामा लाश फेला परेको हो ।
मृतक लाशको घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी मृतकको लाश पोष्टमार्टम कार्यको लागि त्रिशुली जिल्ला अस्पताल नुवाकोटको शव गृहमा राखी अनुसन्धान भई रहेको र मृतकको हाल सम्म पहिचान सनाखत हुन नसकेको प्रहरीले जारी गरेको छ । मृततको फोटो समेत सार्वजनिक गरिएको भएपनि शव चिन्न नसक्ने अवस्थामा रहेकाले कसको हो भन्ने अझै पहिचान हुन सकेको छैन । प्रहरीले सार्वजनिक रुपमा उक्त हुलिया भएको मृतक पुरुष व्यक्तिको कोही कसैले पहिचान गर्नु भएमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न हुन समेत अनुरोध समेत गरेको छ ।

शवको प्रकृति हेर्दा केही समय अगाडिको घटना भएको जस्तो देखिन्छ । प्रहरीले सार्वजनिक गरेको हुलिया अनुसार मृतककले निलो कालो रङको हुडी कालो रङको सुईटर लगाएको, निलो रङको पटुकी लगाएको, तल्लो भागमा कालो रङको ट्रयाक, भित्र पट्टी कालो रङको ट्रउजर लगाएको, खुट्टामा Sports लेखिएको कालो सेतो रङको मोजा लगाएका छन् । यस्तै उचाई ५ फिट ३ ईन्च भएको , ( घट्नास्थल नजिकै NEPAL FPU MINUSTAH लेखिएको कालो झोला समेत रहेको छ ।
