
आजबाट सुरु भएको दादुरा रुवेलाविरुद्धको अभियान अन्र्तगत गेर्खु स्वास्थ्य चौकीका लागि कार्यालय प्रमुख देवकी डोटेललाई खोप हस्तान्तरण गरिदै ः तस्बिर गेर्खु स्वास्थ्य चौकी
विदुर । सरकारले राष्ट्यि रुपमा सञ्चालन गरेको रुवेला तथा दादुराविरुद्धको खोप अभियान नुवाकोट जिल्लामा सोमबारबाट सुरु भएको छ । स्वास्थ्य कार्यालय नुवाकोका अनुसार नुवाकोटमा करिब १८ हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ ।
राष्ट्यि रुपमा स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले फागुन १३ गते भक्तपुरबाट सुरु गर्नुभएको अभियान आगामी फागुन २६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । यस्तै नुवाकोटमा भने १४ गतेबाट १८ गतेसम्म सञ्चाल हुने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार नुवाकोटका १७ हजार ६३० जना ९ महिनादेखि ५ वर्ष उमेर समूहकाका बालबालिका खोप लगाइने तयारी गरिएको छ । खोप अभियानका लागि नुवाकोटमा २८१ खोप केन्द्र, ३४७ स्वास्थ्यकर्मी र ५६२ जना स्वास्थ्य स्वयंसेवकहरू परिचालन गरेको छ ।
यसैबीच जिल्लाको गेर्खु स्वास्थ्य चौकी, चोगते, दुईपिपल लगायतका स्थानहरुमा सोमबार र मंगलबारसम्म करिव एक हजार भन्दा बढि बालबालिकालाई खोप लगाइएको सम्बन्धित कार्यालय प्रमुखहरुले नुवाकोट पुकारलाई जानकारी दिनुभएको छ । गेर्खु स्वास्थ्य चौकीका इन्चार्ज दवकी डोटेलले अभियान सञ्चालन भएको जानकारी दिनुभयो । उहाले दिनभर ५० भन्दा बढि बालबालिकालाई खोप लगाइएको पनि जानकारी दिनुभयो ।
उता उत्तरी हिमाली जिल्ला रसुवामा पनि सो अभियान सुरु हुँदैछ । जिल्लाको तापक्रमअनुसार भ्याक्सिन व्यवस्थापन एवम् ढुवानी गरिएको बताइएको छ । रसुवामा फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने भएको छ । ५४ खोप केन्द्रबाट तीन हजार पाँच सय बालबालिकालाई खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

आगामी सन् २०२६ देखि दादुरा उन्मूलनको घोषणा गर्ने लक्ष्य रहेकाले यस वर्षको खोप अभियानमा अनिवार्यरुपले आ–आफ्ना बालबालिकालाई सहभागी गराउन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गते २५ दिनसम्म सञ्चालन हुनेछ । विशेष गरेर भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका पनि खोप अभियान सहभागी हुने बताइएको छ ।

जाजरकोट र पश्चिम रुकुममा भने गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो । खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । डा गौतमका अनुसार अभियानका लागि ६३ लाख ३० हजार मात्रा खोपको व्यवस्थापन गरिएको छ । उक्त खोप अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ । सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिएको थियो ।