
दुईपिपल । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ६ स्थित घ्याम्पे चौतारामा रहेको महादेव मन्दिरको संरक्षण तथा भौतिक पूर्वाधारको विकासका लागि महायज्ञ लगाइने भएको छ । महादेव मन्दिर संरक्षण समितिका संयोजक शिव रिजालका अनुसार आगामी फागुन २३ गतेदेखि चैत्र १ गतेसम्म नवाह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव आयोजना गर्न लागिएको हो ।
महायज्ञ सफल बनाउनका लागि रिजालको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा रामहरि घिमिरे र रेवती नेपाल रहनु भएको छ भने सचिवमा बच्चुराम लामिछाने रहनु भएको छ । अन्य सदस्यहरु पनि राखिएको छ ।
पण्डित शिरोमणी श्री दिपक प्रसाद पौडेल मुख्य वाचकका रुपमा रहने महायज्ञमा देवलिला,जनचेतनामुलक नाटकसहित संगीयतमय कथा वाचन समेत हुने आयोजक समितिका सचिव बच्चुराम लामिछानेले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । उहाका अनुसार महायज्ञमा रु १ देखि ५ सयसम्म दान पेटिकामा राखिने र कार्यक्रमबाट दाताको नाम सम्बोधन गरिने छ । यस्तै ५ हजारभन्दा बढिका दाताहरुकको लागि भने सम्मानपत्रको समेत व्यवस्था गरिएको छ ।
१० हजार माथिका दातालाई आजिवन सदस्यतासहित प्रमाणपत्र प्रदान गरिने छ । ५० हजार मािथ दान गर्ने परिवारका सम्पूर्ण सदस्यलाई बाजागाजासहित अभिनन्दन गरिने भने यसैगरि १ लाख माथिको सहयोग गर्ने दाताका लागि मानार्थ अभिनन्दनसहित उच्च सम्मान गर्ने र शिलालेखमा नाम लेखिने समेत व्यवस्था गरिएको छ ।
विगत १५ वर्षअघि अध्यक्ष शिव रिजालका पिता उमानिधि रिजालको परिकल्पनामा स्थापना गरिएको महादेवको मन्दिरलाई उहाले व्यक्तिगत रुपमा विकास तथा संरक्षण गर्दै आउनु भएको थियो । पछिल्लो समय भने नगरपालिका, वडा कार्यालय र स्थानीय समाजसेवी तथा दाताहरुको सहयोगमा मन्दिरमा पर्खाल लगाउने, ट्ष्ट हाल्ने, मन्दिर निर्माण गरि महादेवको मुर्ति स्थापना गर्ने काम समेत पूरा भएको छ । उक्त मन्दिरमा शिवरात्री, हरितालिका तिज कृष्णअष्टमी लगायतका धार्मिक पर्वहरुमा मेला लाग्ने गरेको छ । दुईपिपलको ठुलो भेगका नागरिक दैनिक रुपमा मन्दिरमा पुजा गर्न जाने गरेका छन् ।
उक्त क्षेत्र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण मानिदै आएको छ । घ्याम्पेबाट नुवाकोट जिल्लाको त्रिशुली, देवीघाट, रातमाटे बुधसिंड. लगायतका अधिकांश स्थानहरुको अबलोकन समेत गर्न सकिने भएकाले पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिदै आएको छ । यसलाई संरक्षण र विकास गर्ने र आफ्ना सन्ततीहरुलाई समेत धार्मिक आस्थाप्रति विश्वास जगाउँदै मन्दिरको संरक्षण गर्ने उदेश्य साथ महायज्ञ आयोजना गरिएको अध्यक्ष रिजालले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।