
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ। कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको आजको बैठकसमेत स्थगित भएको छ।
संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस सांसदहरूले नाराबाजी गरे।
बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू आफ्नो स्थानबाट उठेर बेलतर्फ अघि बढेका थिए। सभामुखले बैठक चल्न दिन गरेको आग्रहलाई बेवास्ता गर्दै प्रमुख प्रतिपक्षीले नाराबाजी जारी राखेपछि बैठक जेठ ३ गते बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ।
गृहमन्त्री नै सहकारी ठगी प्रकरणमा मुछिएकाे भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र धन्यवाद प्रस्ताव टेबल गर्ने प्रयोजनका लागि बोलाइएको बैठक पुनः अवरुद्ध गर्ने निर्णय गरेको थियो। सोहीअनुरूप कांग्रेसले संसदमा अवरोध जारी राखेको हो।