
धनुषा — नागरिकता सम्बन्धि विवादमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो ।

अध्यक्ष सिरोहियाका वकिल रमन कर्णले सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृतिमा प्रहरीले रिहा गरेको पत्रकारहरुलाई जानकारी दिएका छन् । उहाँलाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको छ । प्रहरीले रिहा गरिसकेको जानकारी हामीलाई दिएको छ ।
सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृति सहितको पत्रका आधारमा धनुषा प्रहरीले ललितपुर प्रहरीलाई पत्र पठाएपछि हिरासतबाट छोडिएको हो,कर्णले भने ।अध्यक्ष सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट प्रहरीले पक्राउ गरी नागरिकतासम्बन्धमा अनुसन्धान गर्न भन्दै स्थलमार्गबाट धनुषा पुर्याएको थियो । अदालतबाट तीन पटकमा दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गाम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको हो ।