
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सांसदहरूलाई एक ढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न निर्देशन दिनुभएको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक अवस्था र संसद्मा पेश भएको बजेटबारे ब्रिफिङ गर्दै बजेटको डिफेन्स गर्न निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले बजेट सन्तुलित आएकाले यसलाई सकारात्मक रुपमा छलफलमा जाने र नपुगेका विषय सुझाव दिएर अगाडी बढ्न आग्रह गर्नु भएको नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकार तलमाथि नहुने कुरामा ढुक्क रहन पनि सांसदहरूलाई आग्रह गर्नु भएको प्रमुख सचेतक पाण्डेले बताउनुभयो ।