
काठमाण्डौ – सहकारीमा भएको ठगी अरोपमा फरार रहेका कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष एवम् पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा सीबी पक्राउ परेका छन् ।

तस्बिर ः सामाजिक सञ्जाल
सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको हो । उनलाई चितवनबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो ।
कान्तिपुर सहकारीमा अध्यक्ष छँदा बचत अपचलन गरेको आरोप लागेपछि लामा फरार थिए । उनले दुई करोड रुपैयाँ ठगी गरेको भनी उजुरी परेको प्रहरीले जनाएको छ ।
काभ्रेका लामाले काठमाण्डौमा कान्तिपुर सहकारी स्थापना गरेका थिए । सहकारीको एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार रुपैयाँ अपचलन भएको आरोप छ । कान्तिपुर सहकारीमा आठ सय ५२ जना बचतकर्ताको रकम डुबेको छ ।
लामालाई आफू अध्यक्ष रहेको पशुपति सहकारीको पनि बचत रकम अपचलन गरेको आरोप लाग्दै आएको छ । पछिल्लो समय सहकारी प्रकरणमा त्यसमा संलग्नहरुलाई खोजी जारी गरिएको छ । संसदले सहकरारीमा भएको बचत अपचलनको छानविन गर्न सांसद सुय थापाको नेतृत्वसमा सात सदस्यीय छानविन समिति गठन गरेको छ । समितिले केही दिनभित्र छानविन थाल्ने बताइएको छ ।