
काठमाडौं, जेठ २४ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिस्चित गर्न माग गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले पत्रकार महासंघको विधान अनुसार सदस्यता टुंगाएर निर्वाचनको सुनिस्चित गर्न आग्रह गरेको हो ।
युनियनले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा उम्मेदवारको प्रारम्भिक सूची तयार गरी आवश्यक परामर्श गर्नका लागि युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के।सी।को संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा उपाध्यक्षहरु नकुल अर्याल, भीष्मराज ओझा, सलोजा दाहाल र सदस्य सचिवमा युनियनका महासचिव दिलीप पौडेल रहेका छन् ।
महासंघको अधिवेशन जेठ २६ गते तोकिएको भए पनि सदस्यता विवाद नटुंगिए पछि युनियनले महासंघका शाखाले सर्वसम्मत रूपमा सिफारिस गरेका सदस्यहरू कायम गर्न, जिल्लाबाट सिफारिस गरेपछि कतिपय प्रदेश समितिले हटाएका नामलाई समेत कायम गर्नुका साथै कारणबस छुटेर प्रदेश समितिमा उजुरी परी छानबिनबाट सिफारिस भएका सदस्यहरूलाई कायम गर्दै महासंघको सदस्यता टुंगाउन आग्रह गरेको छ ।
सचिवालय बैठकले सन् २०२४ जुन १९ मा बेलायतको लन्डनमा आयोजना हुने अन्तर्राष्ट्रिय पत्रकार महासंघ ,आइएफजे, को वार्षिक साधारण सभामा सहभागी हुन नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई पठाउने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघको निर्वाचन जेठ २६ गते गर्ने भनिएको भएपनि अझै सदस्यता विवाद समाधान हुन सकेको छैन । सदस्यता शुद्धीकरण विवाद समाधान नहुँदा महासंघका लागि उम्मेदवार समेत को को हुने अन्योलता कायम नै रहेको छ । विगतमा संघ संगठनबीच गठबन्धन भएपनि यस पटक को कोसँग गठबन्धन हुँदैछ भन्न भन्ने निश्चित भएको छ ।
सत्ता गठबन्धनमा रहेका एमाले र माओवादीका शुभेच्छुक पत्रकारहरुबीच गठबन्धनको प्रयास भएको बुझिएको छ भने प्रेस युनियनले पनि अन्य संगठनसँग गठबन्धन गर्ने तयारी गरेको छ ।महासंघमा देखिएको सदस्यता विवाद हेर्दा पर्सी २६ गते निर्वाचन हुने अवस्था नदेखिएको भन्दै पत्रकारहरुले असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।